काठमाण्डु- राजनीतिक यात्राको छोटो अवधिमै देशको कार्यकारी नेतृत्वमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ। अपरिपक्व व्यवहार, एकलौटी निर्णय, पार्टीलाई बेवास्ता र नीति-सिद्धान्त नस्वीकार्ने प्रवृत्तिले जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ।
सामाजिक सञ्जालसँगै जनमानसमा लोकप्रिय व्यक्तित्वका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिनाशर्त प्रधानमन्त्री बनाएका बालेनमाथि अहिले संविधान, पार्टीको नीति र सिद्धान्तअनुसार सरकार चलाउन नसकेको आरोप लाग्न थालेको छ।
पार्टीभित्र असन्तुष्टि बढ्दै जाँदा सभापति रवि लामिछाने प्रधानमन्त्री शाहसँगको सम्बन्धमा दरार नआएको सन्देश दिन लागिरहेका छन्। उनी दुई जनाबीचको सहकार्यलाई जोगाउन प्रयासरत देखिन्छन्।
बालेन र रविबीचको राजनीतिक सहकार्य, उनीहरूको कार्यशैलीको मतभिन्नता, पार्टीभित्र बढ्दो असन्तुष्टि र प्रधानमन्त्रीलाई आफ्नै कारण आउन सक्ने सम्भावित राजनीतिक संकटबारे हामीले चर्चा गर्ने कोसिस गरेका छौँ।
सहकार्यको सुरुवातदेखि शक्ति सन्तुलनसम्म
दोस्रोपटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा अविश्वसनीय १८२ सिट प्राप्त गर्यो। २०७९ असारमा स्थापना भएको पार्टीले दोस्रो निर्वाचनमै यति ठूलो सफलता पाउनुको एउटा मुख्य कारण काठमाण्डु महानगरपालिकाका तत्कालीन वालेन्द्र शाह गत पुस १३ गते पार्टीमा प्रवेश गर्नु थियो ।
२०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेपालको राजनीतिमा नयाँ पुस्ताको खोजी भयो । त्यही आन्दोलनलाई अपनत्व लिएका बालेन काठमाण्डु महानगरपालिकाको मेयर पदबाट बिदा भएर रास्वपामा आबद्ध भए। त्यसअघि बालेनले छुट्टै पार्टी खोल्ने गृहकार्यसमेत गरेका थिए ।
तर, रास्वपा सभापति लामिछानेले बालेनलाई आफ्नो पार्टीमा ल्याउन लामो कसरत गरे। सहकारी र संगठित अपराधसम्बन्धी मुद्दा र अन्य राजनीतिक विवादका कारण रवि स्वयम् प्रधानमन्त्री बन्ने बाटो सहज थिएन। त्यो अवस्थामा बालेनको लोकप्रियता रास्वपाका लागि उपयोगी हुने देखियो। अर्कोतर्फ, प्रधानमन्त्री बन्ने बालेनको आकांक्षा पूरा गर्न पनि रवि नेतृत्वमा रहेको रास्वपाको संगठित पंक्ति चाहिएको थियो ।
त्यही राजनीतिक आवश्यकताबीच १३ पुस २०८२ मा बालेन र रविबीच ७ बुँदे समझदारी बन्यो। उक्त समझदारीअनुसार सरकारको नेतृत्व बालेन र पार्टी सञ्चालनको जिम्मेवारी रविले लिए । उक्त समझदारी जुटाउन तत्कालीन जेन-जी आन्दोलनका नेता तथा वर्तमान गृहमन्त्री सुधन गुरुङले महत्त्वपूर्ण भूमिका खेले।
गुरुङले त्यसबेला अन्तरिम सरकारका शक्तिशाली मन्त्री कुलमान घिसिङलाई पनि रास्वपामा आबद्ध गराउन भूमिका खेले। पुस १४ गते रास्वपामा जोडिएका उनी सम्मानजनक स्थान नपाएको भन्दै पुस २६ गते सहमति तोडेर उज्यालो नेपालमै फर्किए। रास्वपासँग सहकार्य तोडेका कुलमान फागुन २१ मा पूर्णतया असफल भए । यता रवि र बालेन नेपाली राजनीतिमा शक्तिशाली पात्रका रुपमा उभिन सफल भए ।
बालेन र रविको सहकार्यको मूल उद्देश्य पुराना राजनीतिक दललाई पाखा लगाउनु थियो । दुईजना जुटेर रास्वपालाई दुईतिहाइ नजिकको बहुमतमा पुर्याए। उनीहरूले पुस १३ गते गरेको सहमतिमै आगामी पाँच वर्ष सरकार सञ्चालन गर्ने उद्धेश्य राखेका थिए । उनीहरू यसमा आश्चर्यजनक रुपमा सफल भए। फागुन २१ को निर्वाचनमा रास्वपाले १८२ सिट जित्यो। त्यसपछि १३ चैत २०८२ मा बालेन देशकै युवा प्रधानमन्त्री बने ।
पूर्वसहमतिअनुसार रविले बालेनलाई प्रधानमन्त्री बन्न रोकतोक गरेनन्। बालेनले सरकार सञ्चालन र रविले पार्टीको नेतृत्व लिँदै रास्वपा अघि बढ्यो। सरकार गठन गर्दा पनि बालेनको चाहनाअनुसार रविले आफ्नो टिमबाट मन्त्री पठाए। मन्त्रालयको संख्या घटाएर सानो र छरितो मन्त्रिपरिषद् बनाइयो ।
तर, सरकार गठनको केही समय नबित्दै दुई नेताबीच कार्यशैलीगत भिन्नता देखिन थाल्यो। बालेनको एकलौटी निर्णय गर्ने शैली र पार्टीका नेताहरूसँग पर्याप्त छलफल नगर्ने प्रवृत्तिका कारण रवि तनावमा परे। यो कुरा रास्वपाकै नेताहरू बताउँछन्। सरकारका निर्णयमा समस्या देखिँदा रविले त्यसको बचाऊ गर्नुपर्ने अवस्था आउने गरेको नेताहरू बताउँछन्।
बालेनसँगको सम्बन्धमा दरार आएको चर्चा हुँदा रविले त्यसलाई अस्वीकार गर्दै आएका छन्। कहिले प्रधानमन्त्रीको ‘गोल’ आफ्नै पोस्टमा आए पनि फेरि बालेनतिरै फर्काउने जवाफ दिन्छन्। कहिले बालेनलाई प्रधानमन्त्री बनाउन आफूले थप पाँच वर्ष पनि त्याग गर्न तयार रहेको बताउँछन्। कहिले कसैले चाहँदैमा आफूहरूबीचको सम्बन्ध नबिग्रिने अभिव्यक्ति दिन्छन्।
तर, निकट स्रोतहरूका अनुसार दुई नेताबीच पछिल्लो समय असमझदारी बढेको छ। यसको प्रमुख कारण बालेनको कार्यशैली रहेको उनीहरूको दाबी छ। रविले बालेनलाई सरकार सञ्चालनका लागि आवश्यक राजनीतिक वातावरण बनाए पनि प्रधानमन्त्रीले पार्टी, संविधान र विधिको सीमाभित्र रहेर काम नगरे भविष्यमा संकट आउन सक्ने उनीहरूको विश्लेषण छ।
रास्वपाका शीर्ष नेता र केही मन्त्रीहरूले पनि प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्। यद्यपि, रविले अहिलेसम्म बालेनसँगको सम्बन्धमा दरार आएको विषयमा औपचारिक रूपमा बोलेका छैनन्। बरू सञ्चारमाध्यममा आएका समाचारको खण्डन गर्दै सम्बन्ध सामान्य रहेको बताउने गरेका छन्।
बालेन भने रविसँगको सम्बन्धबारे सार्वजनिक रूपमा बोल्दैनन्। उनको सचिवालयले पनि यस विषयमा स्पष्ट जवाफ दिने गरेको छैन। बालेन र रविबीचको सम्बन्धबारे हामीले प्रधानमन्त्रीका सचिवालय सदस्य सुरेन्द्र बजगाईसँग सोधेका थियौँ। उनले पार्टी र सरकार दुवैले राम्रोसँग काम गरिरहेको बताए । दुवै नेताको सल्लाहअनुसार नै काम भइरहेको जवाफ उनले दिए ।

प्रवृत्तिगत प्रश्न : ओलीकै बाटोमा बालेन?
रास्वपाका कयौँ सांसद प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति असन्तुष्ट रहेको कुरा नेताहरूले रविलाई दिने गरेका छन्। सरकारका निर्णयका कारण जनताले आफूहरूमाथि प्रश्न उठाउन थालेको भन्दै सांसदहरूले सभापति लामिछानेसमक्ष गुनासो गर्ने गरेका छन्।
सांसदहरूले जनताका गुनासा प्रधानमन्त्रीसमक्ष पुर्याउन खोजे पनि उनले समय नदिने उनीहरूले दुखेसो पोख्ने गरेका छन्। प्रमलाई भेट्नसमेत कठिन हुने गरेको उनीहरूको गुनासो छ। प्रधानमन्त्रीको कार्यशैलीकै कारण भविष्यमा राजनीतिक संकट आउन सक्ने विश्लेषण राजनीतिक विश्लेषकहरूले पनि गर्न थालेका छन्।
लामो समयदेखि नेपालको राजनीतिबारे विश्लेषण गर्दै आएका हरि रोक्का र श्याम श्रेष्ठले पनि प्रधानमन्त्री आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण गरेका छन्। प्रधानमन्त्री शाहको कार्यशैली र प्रवृत्तिका कारण सरकारसँगै पार्टीसमेत संकटमा पर्न सक्ने उनीहरूको भनाइ छ।
‘विगतमा केपी ओलीले पनि यस्तै प्रवृत्ति र शैली देखाएले भदौ २३ र २४ गते अचानक देशले ठूलो क्षति भोग्नुपर्यो। जनतामा अहिलेको सरकारप्रति निराशा र उकुसमुकुस सुनिन थालेको छ। हामी चाहन्छौँ, यो सरकार सच्चिएर राम्रोसँग राज्यसत्ता सञ्चालन गरोस्’, उनी भन्छन्, ‘तर प्रधानमन्त्रीले सात महिनाको अवधिमा जुन प्रकारका प्रवृत्ति र हुकुमी शैली अपनाउँदै हुनुहुन्छ, ती एकदमै गलत छन्। सही कुरालाई जनताले साथ दिएकै छन्, हामीले पनि दिएका छौँ। तर, प्रधानमन्त्री र सरकारका गलत निर्णय सच्याउनुपर्छ।’
रोक्काले सरकारका गलत कामको जिम्मा लिएर कार्यशैलीमा सुधार गर्नुपर्ने बताए। ‘हाम्रो शासन व्यवस्थामा सरकार भनेकै प्रधानमन्त्री हो। त्यसकारण प्रधानमन्त्रीले आफ्ना मान्छेका गल्तीको जिम्मेवारी लिनुपर्छ। प्रधानमन्त्रीलाई थाहा छैन, म जान्दिनँ भन्ने छुट हुँदैन’, उनले भने, ‘त्यसकारण प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्छ। उहाँ आफ्नै कारण संकटमा पर्ने अवस्था नआओस्। सरकारका गल्तीमा म जिम्मेवार छैन भन्ने अधिकार प्रधानमन्त्रीलाई हुँदैन।’
अर्का विश्लेषक श्याम श्रेष्ठ पनि विगतका सरकार र अहिलेको सरकारको प्रवृत्तिमा खासै फरक नरहेको बताउँछन्। पात्र फेरिए पनि शासन सञ्चालन शैलीमा अपेक्षित सुधार नदेखिएको टिप्पणी उनले गरेका छन्।
‘अनुहार मात्रै फेरियो, प्रवृत्ति त केपी ओली, शेरबहादुर देउवा अथवा प्रचण्डभन्दा फरक भएन। ओलीको शैली मन नपरेका वालेन्द्रले उहाँको भन्दा दोब्बर नराम्रो स्वभाव देखाउन थालेपछि जनताको उकुसमुकुस बिस्तारै बाहिर आउन थाल्छ’, श्रेष्ठले भने।
उनले देशले अब अर्को ठूलो क्षति भोग्न नसक्ने पनि बताए । ‘देशले अब अर्को ठूलो क्षति भोग्न सक्दैन। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बनाएका उसले सोचविचार गर्नुपर्छ। प्रधानमन्त्री र सरकारको काम गर्ने तरिकामा समस्या छ । यसका कारण अरू क्षेत्रले दुःख पाउनु हुँदैन’, उनले भने,‘प्रधानमन्त्रीलाई सहज बाटो हुँदाहुँदै आफैँ खाडल खनिरहनुभएको छ। भोलि त्यही खाडलमा आफैँ नपर्नुहोला भन्न सकिँदैन। प्रधानमन्त्री मात्रै होइन, पार्टी पनि खाडलमा पर्न सक्ने अवस्था छ। त्यसकारण बेलैमा सोच्नुपर्छ। राजनीतिमा सत्ता सधैँ स्थायी हुँदैन। विगतमा माओवादीले पनि दुईतिहाइ बहुमत ल्याएकै हो।’
विगतमा ओलीको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिने बालेन आफैँ सत्तामा पुगेपछि पुरानै प्रवृत्ति दोहोर्याउन थालेको आरोप लाग्न थालेको छ। जेन-जी नेतृ रक्षा बमले पनि बालेनको कार्यशैलीलाई ओलीसँग तुलना गर्दै कटाक्ष गर्ने गरेकी छन्। अर्का जेन-जी युवा उपार्जुङ राईले पनि ओली र बालेनको कार्यशैली मिल्दोजुल्दो रहेको टिप्पणी गर्दै सत्ता स्थायी नहुने भएकाे सुध्रिन केही समय पर्खिएको बताइरहेका छन्।

सांसदहरू उकुसमुकुस, रविलाई बचाउ गर्नै सकस
सरकार गठन भएको सात महिनायता प्रधानमन्त्री बालेनले आफू र सभापतिबीचको सम्बन्धबारे सार्वजनिक रूपमा केही बोलेका छैनन्। बरु सामाजिक सञ्जालमा अभिव्यक्ति दिने र प्रश्न उठेका विषयलाई अन्यत्र मोड्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ।
रवि भने बालेनसँग सम्बन्धमा कुनै दरार नआएको बताइरहेका छन् । सरकार सञ्चालनका लागि प्रधानमन्त्रीलाई स्वतन्त्रता दिएको उनले तर्क गर्ने गरेका छन्। तर, प्रधानमन्त्रीलाई स्वतन्त्रता दिएको बताइरहँदा सरकारका निर्णयको जिम्मेवारी लिनबाट रवि पन्छिने गरेको टिप्पणी हुन थालेको छ।
सरकारका राम्रा कामको जस रविले लिने तर विवादित निर्णय र आलोचनायोग्य कामको जिम्मेवारीबाट पन्छिने गरेको आरोप उनीमाथि छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ, पत्रकारहरूमाथि धरपकड, प्रेसमाथिको सरकारी आक्रमण, विभिन्न सञ्चारगृहअगाडि प्रहरीका गाडी तैनाथीका घटनाले प्रधानमन्त्री सदन र मतदाताप्रति जवाफदेही नभएको कुरा उठेको छ। यी विषयमा रविले आफूलाई जानकारी नभएको बताउँदै सत्यतथ्य बाहिर आउनुपर्ने धारणा राख्ने गरेका छन्।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते सदनमा उभिएर नेपालले पनि भारतको भूभाग मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको विषयमा पनि रवि पन्छिएको टिप्पणी भएको थियो। बालेनको कार्यशैलीप्रति रवि असन्तुष्ट रहे पनि उनी तत्कालै विकल्प खोज्ने अवस्थामा उनी छैनन्।
तर, रविनिकट नेताहरू प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध खुलेरै प्रस्तुत हुन थालेका छन्। रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, सचेतक प्रकाशचन्द्र परियार, कान्तिशिखा धिताल, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीहरूले सरकारबारे खुलेरै प्रश्न गरिरहेका छन्। नेताहरू मनिष झा, गणेश पराजुली, जगदीश खरेल, जगदीश खरेल दोलखा, पारसमणि गोलाल, सुलभ खरेल र लिमा अधिकारीलगायतले संसद्देखि सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
जेन-जी सांसद पुरुषोत्तम यादव र शिवशंकर यादवले पनि सरकारको काम गर्ने शैलीप्रति खुलस्त असन्तुष्टि जनाउँदै आएका छन्। सरकारको कार्यशैलीको सुरुवातदेखि नै विरोध गर्दै आएका अर्का नेता अमरेशकुमार सिंह हुन्।
उनले सरकार हुकुमी र गुण्डागर्दी शैलीमा चलेको भन्दै सदनबाटै आवाज उठाउँदै आएका छन्। दुईतिहाइको सरकारले जनतालाई गुमराहमा राखेको र घमण्ड देखाएको भन्दै उनले आलोचना गरेका थिए।
यसमा उनले भने, ‘सरकारको कार्यशैलीमा हामीलाई चित्त बुझेको छैन। सुधार्नुपर्छ भनेर हामीले सदन र सामाजिक सञ्जालबाट पनि भनिराखेकै छौँ। यहाँभन्दा कति भन्ने? सरकारको काम ठीक छैन, सच्याउनुस् भनिरहेकै छौँ। भन्नुपर्ने कुरा सदन चलेपछि फेरि पनि भनिन्छ।’
अमरेशले सरकारबारे अझै असन्तुष्टि सुनाए । ‘हामीले आफ्ना कुरा भनेका छैनौँ, जनताको कुरा भनिरहेका छौँ। सरकारले काम गर्ने शैली नसुधारेसम्म जनताले दुःख पाउँछन्’, उनले थपे।

मन्त्नी पनि असन्तुष्ट, केहीसँग बढी हिमचिम
प्रधानमन्त्री बालेनले आफूनिकट केही विश्वासिला मन्त्रीहरूसँग मात्रै धेरै विषयमा सल्लाह गर्ने र अन्यसँग पर्याप्त समन्वय नगर्ने गरेको गुनासो आइरहेको छ। कतिपय मन्त्रीका निर्णयमा हस्तक्षेप गर्ने र विभागीय मन्त्रीलाई जानकारी नदिई निर्णय गर्ने गरेको आरोपसमेत लागेको छ।
केही मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यशैलीबारे पार्टी सभापति लामिछानेसमक्ष गुनासो पुर्याएका छन्। तर, लामिछानेले बालेनसँग छलफल गर्ने आश्वासन उनीहरूलाई दिएर पठाउने गरेको स्रोतको भनाइ छ।
काठमाण्डुपार्टीको सम्पर्कमा आएका केही मन्त्रीहरूले पनि प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। कतिपय विभागीय मन्त्रीलाई जानकारी नै नदिई ‘सरप्राइज’ शैलीमा निर्णय गर्ने गरिएको उनीहरूको गुनासो छ। तर, गृहमन्त्री सुधन गुरुङ र भौतिक मन्त्री सुनिल लम्सलाहरूलाई बालेनले निकट राखेर भेदभाव गरेको कुरा उठ्न थालेको छ।
यसबारे एक मन्त्रीले भने, ‘कहिलेकाहीँ प्रधानमन्त्रीज्यूले एक्लै निर्णय गर्नुपर्ने अवस्था आएको हुन सक्छ। धेरै कुरामा हामी सरप्राइज भएका छौँ। स्वभावगत हिसाबले समस्या देखिएको हो। यी कुरा सुधारिए सरकार मजाले चल्छ। मन्त्रिपरिषद् बैठक लगायत निर्णय गर्ने ठाउँमा सबैसँग समन्वय चाहिएको छ।’
प्रधानमन्त्री बालेन र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच केहीअघि असहज सम्बन्ध बाहिरै देखिएको थियो । अर्थ मन्त्रालयसँग सम्बन्धित कतिपय गतिविधिमा प्रधानमन्त्रीले हस्तक्षेप गर्ने गरेको गुनासो वाग्लेले आफूनिकटसँग व्यक्त गरेका थिए ।
गृहमन्त्री गुरुङसँग रविको सम्बन्धमा केही असमझदारी देखिए पनि प्रधानमन्त्री बालेनसँग सम्बन्ध सुमधुर रहेको बताइन्छ। विवाद र आलोचनाबीच गुरुङ दोस्रोपटक बालेनकै चाहनाअनुसार गृहमन्त्री बने। उनीबारेको प्रतिवेदन पनि सार्वजनिक गरिएन। पार्टीका नेताहरूले गृहमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाइरहँदा प्रधानमन्त्रीको साथका कारण उनी पदमा टिकिरहेको रास्वपामै टिप्पणी हुने गरेको छ।
पछिल्ला केही घटनामा गृहमन्त्री र प्रधानमन्त्रीबीच समन्वय भएको देखिएको संसदीय मामिलाका जानकार तथा वरिष्ठ पत्रकार हरिबहादुर थापा बताउँछन्। ‘केही मन्त्रीहरू प्रधानमन्त्रीको कार्यशैलीप्रति खुसी छैनन्। गृहमन्त्री गुरुङ र प्रधानमन्त्रीबीच धेरै कुरामा भित्री छलफल हुने गरेको देखिन्छ। व्यक्ति पक्राउ परेका विषय र विभिन्न घटनाले पनि यो पुष्टि गर्छन्’, थापाले भने।
उनले अगाडि भने, ‘खासमा प्रधानमन्त्रीज्यूले आफ्नै कार्यशैलीका कारण भविष्यमा धेरै कुरा गुमाउनुपर्ने अवस्था आउन सक्छ। रविजीले धेरै कुरा ठीक राखेको देखिन्छ, केमेस्ट्री मिलेको छ भन्दै उहाँलाई बचाइरहनुभएको छ। तर, मिलेको छ भन्दाभन्दै विस्फोट हुने अवस्था आउँदैन भन्न सकिँदैन। त्यसकारण प्रधानमन्त्रीले आफ्नो स्वभाव नफेरे जनताले दुःख पाउनुपर्ने स्थिति आउन सक्छ।’

दोधारमा रवि
केही दिनअघि मात्रै बालेन र रविबीच बूढानीलकण्ठमा करिब साढे ६ घण्टा संवाद भएको थियो। त्यसअघिका भेटमा पनि दुई नेताबीचको कुराकानी बाहिर आउने गरेको थिएन। सचिवालय र सीमित नेताहरूले दिएको सूचनाका आधारमा मात्रै सञ्चारमाध्यमले उनीहरूको भेटघाटबारे जानकारी पाउने गरेका छन्।
पछिल्लो भेटमा पनि के विषयमा छलफल भयो भन्नेबारे न रविले बोलेका छन्, न बालेनले। पछिल्लो भेटपछि विभिन्न व्यक्तिहरू पक्राउ परे पनि त्यसबारे दुवै नेताले आफूलाई जानकारी नभएको बताइरहेका छन्।
रविले शनिबार सचिवालय बैठक राखेर पक्राउ परेका पत्रकार र उच्च तहका कर्मचारीहरूबारे आफूलाई जानकारी नभएको भन्दै सरकारले सत्यतथ्य छानबिन गर्नुपर्ने मागसहित प्रवक्तालाई विज्ञप्ति निकाल्न लगाए । त्यही दिन पक्राउ परेका पत्रकारहरूबारे जानकारी नभएको भन्दै प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले औपचारिकता पूरा गरिन्।
रविनिकट केही नेताहरूका अनुसार पत्रकार पक्राउसम्बन्धी घटनामा प्रधानमन्त्रीको भूमिकाबारे रविले आशंका गरेका छन्। तर, प्रधानमन्त्री नै पन्छिएको अवस्थामा उनीमाथि सार्वजनिक रूपमा आरोप लगाएर थप कारबाहीको प्रक्रिया अघि बढाउने पक्षमा रवि देखिएका छैनन्। बरू सचिवालय बैठकमार्फत् निष्पक्ष छानबिन गर्न सरकारलाई दबाब दिए।
रवि तत्कालै प्रधानमन्त्रीलाई फिर्ता बोलाउने मनस्थितिमा पुगिनसकेको उनीनिकट स्रोतहरू बताउँछन्। पार्टीका धेरै सांसद बालेनको कार्यशैलीप्रति असन्तुष्ट हुँदा पनि रविले सम्बन्ध जोगाउन प्रयास गरिरहेका छन्। यसको एउटा कारण बालेनसँग भएको पूर्वसहमति पनि हो।
पाँच वर्ष सरकार नटिक्दा विगतमा जनताले पटक–पटक समस्या भोग्नुपरेको भन्दै रविले स्थायी सरकार बनाएर देखाउने चेतावनी दिँदै आएका थिए। आफू पुराना दलहरूजस्तो सत्ता भोगी नभएको बताउँदै उनले बालेनका लागि थप पाँच वर्ष पनि सत्ता त्याग गर्न तयार रहेको अभिव्यक्ति दिएका छन्।
तर, संविधान र विधिको सीमाभन्दा बाहिर गएर सरकारले विभिन्न निर्णय तथा गतिविधि गरेको आरोप लागिरहँदा पनि रवि मौन छन्। सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको विषयमा रास्वपाका प्रवक्ता जगदीश खरेल पार्टी र सरकारबीच स्पष्ट कार्यविभाजन रहेको सुनाउँछन्।
‘सरकारले केही साना काममा पार्टीसँग सल्लाह नगरेको बिल्कुल हो। तर, पार्टीले र सरकारले आ–आफ्नो काम गर्ने भन्ने कार्यविभाजन सभापति र प्रधानमन्त्रीबीच भएको छ। छटपटीभन्दा पनि सरकारले गरेका गलत कुराहरू सच्याउनुपर्छ र छानबिन हुनुपर्छ भन्ने माग राख्नु लोकतन्त्रको सुन्दर पक्ष हो’, खरेलले भने।
उनले थपे, ‘विगतमा यस्ता प्रवृत्ति पार्टीमा हुने गरेका थिएनन्। हामी स्पष्ट छौँ, दोधारमा छैनौँ। पार्टी सभापतिले पनि बाहिर आएका विषयमा सरकारबाट स्पष्ट जवाफ आउनुपर्छ भन्नुभएको छ।’
रविले सरकारका सकारात्मक कामको जस लिने तर आलोचित कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखाएको भन्दै उनको राजनीतिक भूमिकामाथि पनि टिप्पणी हुन थालेको छ।
राजनीतिक विश्लेषक इन्द्रा अधिकारीका अनुसार पछिल्ला घटनाक्रमले बालेन र रविबीच पाँचै वर्ष सहमतिमै सरकार सञ्चालन हुने सम्भावनाबारे प्रश्न उठाएकी छन्। उनीहरूबीचको असन्तुष्टि र त्यसको परिणाम पार्टीका सांसदहरूको अभिव्यक्ति तथा सरकारका निर्णयप्रति सार्वजनिक रूपमा व्यक्त भइरहेका धारणामा देखिन थालेको उनको विश्लेषण छ।
अधिकारी भन्छिन्, ‘विभिन्न परिघटनाले पाँचै वर्ष वालेन्द्र र रविले सल्लाहमै सरकार चलाउनुहुन्छ जस्तो लाग्दैन। उहाँहरूबीच एकदमै धेरै असन्तुष्टि र छटपटी देखिन्छ। त्यसको परिणाम अरू सांसदहरूले दिएका अभिव्यक्ति र सरकारले गरेका नकारात्मक कामप्रति अरूले बनाएको धारणामा भर पर्छ।’
उनले रवि विवादित भएकैले उनले बालेनलाई प्रधानमन्त्री स्वीकारेको बताइन्। ‘रविजीका विभिन्न विवाद भएका कारण प्रधानमन्त्रीका रूपमा उहाँले बालेनजीलाई स्वीकार गर्नुभएको हो। तर, बालेनजी अझ बढी एकलौटी र संविधान तथा नीति मिच्ने व्यक्ति हुनुभयो’,उनले भनिन्, ‘हिजो केपी ओली, प्रचण्ड र शेरबहादुर देउवाभन्दा उहाँहरू फरक देखिनुभएको छैन। केपीले जुन प्रवृत्ति देखाएका थिए, अहिले प्रधानमन्त्रीले त्योभन्दा समस्याजनक प्रवृत्ति देखाइरहनुभएको छ।’
प्रधानमन्त्रीको कार्यशैलीको सकारात्मक र नकारात्मक दुवै परिणाम रास्वपाले भोग्नुपर्ने उनी बताउँछिन्। ‘विगतमा पनि मैले उहाँहरूलाई सुध्रिन समय छ भनेकी थिएँ। सुध्रिनुहोस्। बालेनले गरेको जस र अपजसको परिणाम रविजीले पनि भोग्नुपर्छ’, उनले भनिन्,‘भोग्न तयार हुनुहुन्न भने उहाँ विकल्पमा जानुपर्छ। नत्र बालेनजीका सकारात्मक कामको जस लिने तर नकारात्मक काममा जवाफदेही नहुने भन्ने हुँदैन। यो असहुउँदिलो भयो।’
बालेनले प्रधानमन्त्रीका रुपमा गर्ने राम्रा नराम्रा कामको भारी रास्वपाले बोक्नै पर्ने बताइन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार रहेकाले प्रधानमन्त्रीले गरेको अपजस पनि पार्टीले भोग्नुपर्छ। होइन भने उहाँहरूले प्रधानमन्त्री नै परिवर्तन गर्ने दिशातर्फ लाग्नुपर्छ’, उनले भनिन्,‘बालेनजी चुपचाप रहने अनि रविजीले मात्रै सम्बन्ध जोगाउन अभिव्यक्ति दिने काम भइरहेको छ। उहाँहरू मिलेर पाँचै वर्ष सरकार चलाउनुस् भन्ने अपेक्षासहित जनताले मत दिएका छन्। त्यसकारण मिलेर काम गर्नुहोस् भन्ने हाम्रो शुभकामना । तर, नीति, विधि र संविधानभन्दा माथि कुनै व्यक्ति हुँदैन।’


प्रतिक्रिया