बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्।

प्रधानमन्त्री शाहले राति सामाजिक सञ्जालमार्फत दिएको चेतावनीपूर्ण अभिव्यक्तिपछि थापाले जवाफ फर्काएका हुन्।

थापाले बालेनको नाम नलिई साँझ ६ बजेको समय उल्लेख गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’, उनले लेखेका छन्। थापाको यो अभिव्यक्तिलाई कांग्रेसको आधिकारिकता विवादसँग जोडेर हेरिएको छ।

बिचौलिया इनाम सापकोटाले कांग्रेसको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा गगन थापा र न्यायालयका अधिकारीबीच आर्थिक लेनदेनको बार्गेनिङ भएको दाबी गरेको विवरण सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।

तर, थापाको सचिवालयले उक्त विषयलाई मिडियाबाजी भन्दै अस्वीकार गर्दै आएको छ। सार्वजनिक भएका दाबीको आधिकारिकता पुष्टि हुन भने बाँकी छ। यसैबीच थापाले प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिएका हुन्।

गगनले के भने ?

‘अहिले ठीक १८:०० बजेको छ।

तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

उता पत्रकार पक्राउ, सञ्चारमाध्यममाथि प्रहरी धरपकड र सरकारको कार्यशैलीलाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमार्फत कडा टिप्पणी गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको विवादसमेत चुलिइरहेका बेला प्रधानमन्त्री शाहले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको आलोचना भइरहेका सन्दर्भसँग जोडेर हेरिएको थियो।

तर उनले यो टिप्पणी कसलाई लक्षित गरेर गरेका हुन् भन्नेबारे भने स्पष्ट पारेका थिएनन्। उनी सरकारको कदम निरन्तर विवादमा परिरहँदा बालेन आफैं प्रतिरक्षामा उत्रिएका थिए।