काठमाण्डु – प्रधानमन्त्री वालेन शाह सोमबार सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्दैछन्। विश्वविद्यालयसँग सम्बन्धित विषयमा छलफलका लागि उनले सोमबार १२ बजे सबै विश्वविद्यालयका उपकुलपति सहित पदाधिकारीहरूलाई सिंहदरबार बोलाएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग उनले राख्न लागेको यो पहिलो बैठक हो ।
बैठकमा सबै विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
सचिवालयले कुन-कुन विश्वविद्यालय कसरी चलिरहेका छन्, उनीहरूका समस्या के-के छन्, नतिजा प्रकाशनदेखि शैक्षिक क्यालेन्डर, बजेट, विद्यार्थीको अवस्थालगायत विषयमा छलफलका लागि प्रधानमन्त्रीले सबै विश्वविद्यालयका पदाधिकारीलाई सिंहदरबार बोलाएको जनाएको छ ।
साथै विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले गरिरहेका गतिविधि र विद्यार्थी संगठनका असरलगायत विषयमा पनि प्रधामनन्त्रीले पदाधिकारीहरूसँग छलफल गर्नेछन् ।
त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, कृषि र वन विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, नेपाल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, नेपाल विश्वविद्याल र प्रादेशिक विश्वविद्यालयहरू मनमोहन प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, बागमती विश्वविद्यालयका पदाधिकारीहरू छलफलमा सहभागी हुनेछन् ।
यसका साथै प्रधानमन्त्री शाहले त्रिविका पदाधिकारीसँग अलगै छलफल गर्ने तयारीमा छन् । त्यसका लागि उनले त्रिविका पदाधिकारीसँग बिहान ९ बजे छलफल गर्नेछन् ।
यसैगरी प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षामन्त्री र चिकित्सा शिक्षा पढाइ हुने विश्वविद्यालयका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया