काठमाण्डु– रसुवामा आएको बाढीपछि उद्धार, राहत तथा आगामी आवश्यक कदमबारे निर्णय गर्न प्रधानमन्त्री बालेन शाहले उच्चस्तरीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। अन्य जिल्लाबाट समेत थप जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको उनले बताएका छन्।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट, रेडक्रसलगायत सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम अघि बढाइएको उनले उल्लेख गरेका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको छ।
तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। स्थानीयलाई एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान सचेत गराइएको समेत उनले जानकारी दिएका छन्।
सम्भावित उद्धार तथा राहत कार्यलाई ध्यानमा राख्दै सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसके सरकारी निकायबाट आउने उद्धारसम्बन्धी अद्यावधिक सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।




प्रतिक्रिया