मधेशका नेताहरूले प्रधानमन्त्रीलाई भने-संघीयता ‘बलगर’ बनाउनुस्

मधेशका नेताहरूले प्रधानमन्त्रीलाई भने-संघीयता ‘बलगर’ बनाउनुस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशका विभिन्न भागमा खलबलिएको सम्प्रादायिक सदभावका विषयमा प्रधानमन्त्री बालेन शाहले मधेशी नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मधेशी नेताहरूले मधेशमा जारी द्वन्द्व समाधान गर्नका लागि सरकारले तत्कालै पहल गर्नुपर्ने सुझाव दिएका हुन् ।

नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको विषय छलफलमा उठाएका थिए ।

सुनसरीमा भएको घटना बिस्तारै मधेसभर फैलिएको र तत्कालै त्यसलाई नियन्त्रणमा लिन नसकिए यसले भयावह रूप लिन सक्नेतिर पनि उनीहरूले प्रधानमन्त्रीलाई सचेत गराएका छन् ।

प्रधानमन्त्रीले चुनावको बेला संघीयतामतालाई बलियो बनाउने कुरा गरेको तर चुनावपछि जनताको अपेक्षाको पुरा नभएका कारण पनि यो आक्रोश देखिएको उनीहरूको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्री शाहले आफू संघीयताविरोधी नभएको प्रष्ट पारे । उनलेले आफू संघीयता विरोधी भनेर गलत हल्ला फैलाएको बताएको राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले जानकारी दिए ।

‘संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । संघीयतालाई बलियो बनाउने हो । संरचनामा परिवर्तन ल्याउन कुरा थियो तर सन्देश गलत गयो । त्यसलाई सुधार्नुपर्छ । तर म संघीयता विरोधी होइन,’ प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै महतोले भने, ‘संघीयतामा प्राप्त अधिकार प्रयोग गर्नुपर्छ । मेयर हुँदा मैले पनि आफ्नो अधिकार प्रयोग गरेको थिएँ । तपाईंहरू ढुक्क हुनुस् संघीयतामाथि कुनै खतरा हुँदैन ।’

महतोका अनुसार प्रधानमन्त्रीले आफूले ‘बलगर संघीयता’ बनाउने भनेको स्मरण गराए । उनले आफ्नो कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेमा नसोच्न अनुरोध पनि गरे ।

बैठकमा प्रधानमन्त्रीले अहिले भएका सबै सम्झौताहरू पालना गर्ने र अब यस्ता घटना हुन नदिन ख्याल गर्ने प्रतिबद्धता जनाए ।

जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार नेताहरूले प्रधानमन्त्रीलाई प्रदेशको विषयमा ध्यानकर्षण गराएको थिए ।

‘हामीले सरकारलाई असफल बनाउन खोफजेका छैनौं । सरकार दुर्घटनामा नजाओस् भन्ने हो’, आफूले प्रधानमन्त्रीलाई भनेको राउतले बताए ।

छलफलका क्रममा नेताहरूले सुनसरीका पीडित पक्षसँग भएका सम्झौताहलाई रद्दीको टोकरीमा नफाल्न पनि प्रधानमन्त्री शाहलाई सुझाव दिए ।

‘‘सम्झौता भयो, त्यसलाई रद्दिको टोकरीमा नफालिदिनुहोला । विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,’ महतोले भने ।

मधेशमा फैलिएको आगो रोक्नका लागि राज्य संवेदनशील भएर लाग्नुपर्नेमा पनि नेताहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीसँगको छलफलमा जनमत पार्टीका अध्यक्ष राउत, जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह ,एमाले नेता लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अनसारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेस कुमार सिंह, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जयकान्त राउतसहित थिए ।