काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावनाप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ।’
संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद र असमानताको अन्त्य, विकास, समृद्धि, सामाजिक न्याय तथा समतामूलक समाज निर्माणको लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।
संविधान कार्यान्वयन गर्नेहरू इमानदार नभए त्यो कागजमा मात्र सीमित हुने उल्लेख गर्दै प्रधानमन्त्री शाहले भने, ‘एउटा कुरा हामीले कहिल्यै पनि बिर्सनु हुँदैन, संविधान जति राम्रो भए पनि यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने यो एउटा कागज मात्र बन्ने छ,’ शाहले भने, ‘म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन।’
संविधानको मर्मअनुसार शासन सञ्चालन गर्न इमानदार निर्णय, पारदर्शी नियुक्ति, जनमुखी सेवा र सुशासन आवश्यक रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सक्रिय रहेको दाबी गरे। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई उखेल्ने प्रयास बलियो रहेको उनले बताए।
‘यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ उनले भने।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै शाहले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यता र क्षमताका आधारमा नियुक्तिको प्रक्रिया अवलम्बन गरिएको बताए।
उनले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्रिय विकासका साझा उद्देश्य हासिल गर्ने सरकारको नीति रहेको बताए।
प्रधानमन्त्री शाहले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको योजना रहेको पनि बताए। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसार राष्ट्रिय डिजिटल पूर्वाधारको आधार तयार गर्ने काम अघि बढाइएको उनको भनाइ थियो।
उनले पछिल्लो विपद्का क्रममा उद्धार तथा राहत कार्यमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, आम नागरिक तथा देशवासीप्रति आभार व्यक्त गरे।
नेपाल विश्वकै विपद् जोखिमयुक्त मुलुकमध्ये रहेको उल्लेख गर्दै उनले विपद्पछि उद्धार र राहतमा मात्र केन्द्रित नभई जोखिम न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताए। विपद्को पूर्वसूचना प्रविधिलाई सरकारले सर्वोच्च प्राथमिकतामा राख्ने उनले बताए।
प्रधानमन्त्री शाहले संविधान दिवस संविधान पूरा भएको दिनका रूपमा मात्र नभई संविधानको मर्मअनुसार राज्य सञ्चालनको प्रतिबद्धता दोहोर्याउने दिनका रूपमा लिनुपर्ने बताए।
‘हरेक इमानदार निर्णय, हरेक पारदर्शी नियुक्ति, बागमतीको घरमाने हरेक सेवा जनताका लागि, सुशासनका लागि, विकासका लागि, समृद्धि र सामाजिक न्यायमा सरकारको हरेक कदम त्यही आकांक्षामा केन्द्रित छ र रहनेछ,’ उनले भने ।




प्रतिक्रिया