बालेनलाई महेशको ‘काउन्टर’ : मेरो घरको नक्सा हेर्न काजमा सुर्यबिनायक आउनुस्


काठमाण्डु – नेकपा एमाले नेता महेश बस्नेतले काठमाण्डुका मेयर बालेन साहले केहि दिनदेखि महानगरपालिकाभित्र गर्दै आएको कार्यप्रति असन्तुष्टि जनाएका छन् ।

मेयर साहले आफै फिल्डमा उत्रिएर महानगरभित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउन थालेपछि असन्तुष्टी जनाउँदै नेता बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् ।

उनले मेयर साहलाई आफ्नो घरको नक्सा हेर्न सूर्यविनायक नगरपालिकामा काजमा आउन चेतावनी समेत दिएका छन् । बुद्धनगरस्थित अल्फाबिटामा महानगरको डोजर चलेपछि कडा प्रतिक्रिया जनाएका महेश बस्नेतलाई मेयर बालेन शाहले तपाईंको घरको नक्सा पास छ नि ? भन्दै प्रश्न गरेका थिए ।

सोही प्रश्नको जवाफ दिदै बस्नेतले बालेनलाई सबैको घरको नक्सा हेर्ने भुत चढेको भन्दै आफ्नो घरको नक्सा हेर्ने भए भक्तपुरको सूर्यविनायकमा काजमा आउन भनेका हुन् । उनले बालेनलाई भत्काउने र ध्वंश गरेर हिरो बन्छु भन्ने लागेको होला भन्दै दुईरचार सय फेसबुके फ्यान भए भन्दैमा नमात्तिन पनि सुझाव दिएका छन् ।

बस्नेतले डोजरमा मेयरहरु नचढेर ड्राईभर चढ्ने भन्दै डोजर चलाउने मन भए ड्राइभिङ सिकेर आउन भनेका छन् । बालेनले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा सुरु गरेका छन् । यसैक्रममा उनले बिहीबार अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना डोजर लगाएर भत्काए ।

सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले घुमाउरो पारामा चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएपछि बालेनले पनि फेसबुकमै जवाफसहित प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement