नयाँदिल्ली-भारतीय विदेशमन्त्री डा. एस जयशंकर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित ताज प्यालेस होटल पुगेका छन्।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। उनीहरूबीच सबैभन्दा पहिले द्विपक्षीय संवाद हुँदैछ।
नेपाल वायुसेवा निगमको नियमित उडान नम्बर आरए २१७ मार्फत दिउँसो ३ः३५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जीतिन प्रसादले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाहको स्वागतका लागि भारतका लागि नवनियुक्त नेपाली राजदूत निश्चल पाण्डेसहित नेपाली दूतावासका अधिकारी तथा नेपाल वायुसेवा निगमका कर्मचारी पनि विमानस्थल पुगेका थिए।
सांस्कृतिक टोलीले नृत्य प्रस्तुत गरी उनको स्वागत गरेको थियो। दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिले पनि विमानस्थलमा पुगेर स्वागत गरेका थिए।
विमानस्थलबाट प्रधानमन्त्री शाह मध्यदिल्लीस्थित ताज प्यालेस होटल पुगेका थिए। त्यहीँ आइतबार साँझ भारतीय विदेशमन्त्री जयशंकरसँग उनको भेटवार्ता हुन लागेको हो।
प्रधानमन्त्री शाहसँग ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल र ५१ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डल पनि भारत भ्रमणमा छन्।
व्यावसायिक प्रतिनिधिमण्डलले आइतबार साँझ सोही होटलमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।
भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन्।



प्रतिक्रिया