बालेनलाई प्रचण्डको प्रश्न- संवाद गर्न अहंकारले नदिने हाे कि प्रधानमन्त्रीको कद सानो हुने हो ?

बालेनलाई प्रचण्डको प्रश्न- संवाद गर्न अहंकारले नदिने हाे कि प्रधानमन्त्रीको कद सानो हुने हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गइरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री बालेन शाहलाई संवादमा आउन आग्रह गर्दै प्रतिपक्षसँग संवाद गरेर प्रधानमन्त्री कद सानो नहुने बताए । उनले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई के ले रोकेको ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता र बुद्धिजीवीहरू र विज्ञहरूको विशाल पङ्क्ति छ। ठूलठूला अपठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत, क्षमता राख्ने नेताहरूको पङ्क्ति छ। सुशासन, सामाजिक न्याय र समृद्धिको निम्ति लड्ने नेताहरूको पङ्क्ति पनि छ। लोकतन्त्रको निम्ति झन्डै ७० वर्षदेखि जेल, नेल, यातना थुप्रै थुप्रै भोगेका नेताहरूको पङ्क्ति पनि छ। उनीहरूसँग संवाद गर्न प्रधानमन्त्रीलाई के ले रोकेको होला। मलाई अनौठो लाग्छ।’

उनले प्रधानमन्त्रीको चरित्र आफूलाई अनौठो लागेको बताए ।

उनले भने, ‘उहाँले मलाई बोलाएर एकचोटी तपाईँले पनि भ्रष्टाचारको विरुद्ध लड्छु भनेर सुरु त गर्नुभएको थियो। के ले तपाईँलाई सफल हुन दिएनरु भनेर सोधे पनि त हुन्थ्यो। के ले रोक्या उहाँलाई ? आफ्नै अहंकारले रोक्या हो कि ? म पर्याप्त छु अब मलाई कोही चाहिँदैन भन्ने खालको हो कि ? यदि त्यसो हो भने त्यो दुर्भाग्यपूर्ण हो।’

यस्तै उनले दुई तिहाइ बहुमतको दम्भ नपाल्न रास्वपालाई चेतावनी समेत दिएका छन् ।