प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जाने, दुवै पक्षले थाले तयारी

प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जाने, दुवै पक्षले थाले तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर पहिलो साता दक्षिणी छिमेकी भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको करिब ८ महिनापछि बालेनको भारत भ्रमण निश्चित भएको हो ।

उच्च स्रोतका अनुसार आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म तीन दिन लामो औपचारिक भ्रमणका लागि नेपाल र भारत दुवै पक्षले आन्तरिक तयारी थालेका छन्।

‘प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति तय भएको छ। उहाँ आगामी मंसिर ७ देखि तीन दिने उच्चस्तरीय औपचारिक भ्रमणका लागि दिल्ली पुग्नु हुने भएको छ’, स्रोतले भन्यो ।

उक्त भ्रमणका लागि मुख्य एजेन्डासहित सम्भावित सम्झौता र समझारीबारे पनि भारतीय विदेश मन्त्रालयले र नेपालस्थित परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेका छन्।

यसअघि बालेनको भारत भ्रमणको वातावरण बनाउन तीनवटा भ्रमण भइसकेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीले गत चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन बालेनलाई भ्रमणको निम्तो दिएका थिए ।

तर बालेनले आफ्नो कार्यकाल कम्तीमा सय दिन नपुगी कुनै देशमा भ्रमण नगर्ने अडान लिएका थिए । तर त्यसपछि उनको भ्रमणका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले दिल्ली पुगेर वातावरण बनाउने कोसिस गरेका थिए ।

निरन्तर उच्चस्तरीय पहलबीच बालेन संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन गत असोज ६ गते न्युयोर्क पुगे। तर अब छिमेकी तथा मित्रराष्ट्रको पहिलो औपचारिक भ्रमण बालेनले भारतबाटै गर्ने भएका छन्।