चैत महिनाभित्र अधिकारसम्पन्न भूमि आयोग गठन हुन्छ : मन्त्री अधिकारी


परासी – भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री बलराम अधिकारीले चैत महिनाभित्रमा अधिकारसम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।

पश्चिम नवलपरासीको सुस्तामा आज बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमिहीन र सुकुम्बासीको समस्या २ वर्षभित्र समाधान गरिसक्ने प्रतिबद्धता जनाए । नयाँ गठबन्धन सरकारले भूमि आयोग विघटन गरेको छ ।

लामो समयसम्म जमिन जोतभोग गर्दै आए पनि लालपूर्जाविहीन भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको उनले बताए । नयाँ सरकार बनेपछि राजनीतिक पक्षका कारण आयोग खारेज भएको उनले बताए ।

उनले भने, ‘नयाँ सरकार गठन भएपछि कतिपय राजनीतिक पक्ष हुन्छन्, जसले गर्दा आयोग खारेज भएको हो । चैत महिनाभित्र नै नयाँ आयोग गठन भएर अहिलेसम्म भएका कामलाई निरन्तरता दिएर काम सुरु गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement