बालुवाटार जग्गा प्रकरणमा सञ्चारमन्त्रीले भने – विष्णु पौडेल पिडित हुनु भएछ


काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल जग्गा खरिदमा ठगिएको बताएका छन्।

बालुवाटार प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै ललिता निवासको जग्गामा समस्या देखिएकोले सत्यतथ्य छानविन गर्न सरकारले समिति बनाएको पनि उनले बताए । बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सरकारी जग्गा खरिद् प्रकरणमा मुछिएका पार्टी महासचिव विष्णु पौडेल पीडक नभई पीडित भएको बताए ।

‘सक्कली जग्गा भनेर किनेको नक्कली परेछ, यससम्बन्धमा विज्ञप्ति निकालेर उहाँले प्रकाश पारिसक्नुभएको छ’ उनले भने ।सरकारी जग्गा खरिदमा विष्णु पौडेलको संलग्नता छैन भन्दै मन्त्री बास्कोटाले अन्य व्यक्ति संलग्न भएको भन्दै सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताए ।

मन्त्री बास्कोटाले सार्वजनिक जग्गालाई निजीमा ल्याउनेलाई छानविन गरेर तत्काल कार्वाही गर्ने बताए । मन्त्री बास्कोटाले भने, ‘सरकारी सम्पतिको रक्षा गर्नु नै सरकारको दायित्व हो, सरकारले अहिले जग्गा रोक्का गरेको छ । नेकपाका महासचिवले जग्गा किन्नु नै संलग्नता होला र ? उहाँलाई त झुक्याइएछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement