वामदेव गौतम प्रकरण : अर्यालले भने ‘वडामा खटाउंदा पनि चुनाव जिताउन लागियो’


काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई अन्तर्घात गरेको आरोप लागेका एमाले नेता दामोदर अर्यालले आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
गौतमले केही दिनअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा आफूलाई चुनाव हराउन युवा तथा खेलकुद विभाग सचिव अर्यालको संलग्नता भएको दाबी गरेका थिए ।

 

 

नेता गौतमको दाबी अस्वीकार गर्दै अर्यालले आफूले त्यस्तो सोच्न पनि नसक्ने बताए । उनले आफूलाई पार्टीले जिम्मेवारी दिएको क्षेत्रमा एमालेले २६ सय बढी मतले अग्रता हासिल गरेको बताए । नेता अर्यालले गौतमले नै आफूलाई जमुनिया गाउँपालिकामा गएर काम गर्न निर्देशन दिएको दाबी गर्दै आफूले चुनावमा अन्तर्घात नगरेको बताए ।

 

निर्वाचनमा टिकट वितरण क्रममा आफू श्रीमतीको उपचारका लागि भारतको तमिलनाडु पुगेको उनले बताए । अर्यालकी श्रीमती २५ वर्षदेखि मिर्गौला रोगबाट पीडित छिन् ।  एमाले अध्यक्ष केपी शर्मा ओली निकट भनेर चिनिने अर्यालले गौतमले नै एमालेका केन्द्रीय नेतालाई भूमिकाविहीन बनाएको आरोप लगाए ।

 

‘उहाँले जिम्मेवार नेताहरुलाई वडाको जिम्मा दिनुभयो, जिल्लामा खटेका आफू निकटका नेतालाई समेत उपयुक्त जिम्मेवारी दिनुभएन ,काठमाडौंमा बसेका केही नेताहरुलाई उहाँले जिम्मा दिनुभयो,’ अर्यालले काठमाडौंपाटीसँग भने ।

 

आफूलगायत पूर्वसांसदहरुलाई समेत वडा अन्र्तगत रहेर गौतमले काम गर्न निर्देशन दिएको दाबी गर्दै अर्यालले वाम गठबन्धनलाई जिताउन आफूहरु आ–आफ्नो कार्यक्षेत्रमा खटेको बताए ।

 

‘हामीलाई वडा हेर्ने जिम्मेवारी दिइएको थियो, हामीलाई जुन जुन वडा हेर्ने जिम्मेवारी दिइएको थियो, त्यहाँ बढी नै भोट आएको छ,’ उनले भने । निर्वाचनको बढीजसो जिम्मेवारी आफ्नै नजिकका नेताहरुलाई दिइएको आरोप उनले लगाएका छन् । ३२ वर्षदेखि कम्युनिस्ट राजनीतिमा रहेका अर्यालले वरिष्ठ नेतालाई हराउने कल्पनासमेत गर्न नसकिने बताए ।  

 

 
गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । गौतम हारको खोजी गर्दै एमालेले ५ नम्बर प्रदेशमा केन्द्रीय सदस्य बैजनाथ चौधरीको संयोजकत्वमा र वर्दियामा जिल्ला अध्यक्ष हरि ज्ञवालीको संयोजकत्वमा दुई वटा अलग–अलग छानविन समिति गठन गरेको थियो । छानविन समितिले अहिले आरोपितहरुको वयान लिइरहेको छ ।

 

अर्यालले छानविन समितीले आफ्नो बयान अहिलेसम्म नलिएको बताए । ‘उहाहरुले बयानमा बोलाउनुभयो भने म जान्छु र आफ्नो कुरा राख्छु । तर,अहिलेसम्म मलाई उहाहरुले बयानमा बोलाउनुभएको छैन् ।’ अर्यालले काठमाडौंपाटीसंग कुरा गर्दै भने ।  

प्रतिक्रिया दिनुहोस
Advertisement