मन्त्रीलाई राजिनामा गर्न लगाएर बामदेव गौतमलाई सांसद बनाउने तयारी


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीभित्र नेता बामदेव गौतमलाई सांसद बनाउने तयारी भएको छ । प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित गौतमलाई सांसद बनाउन पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाउने तयारी भएको स्रोतको दाबी छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उप–चुनाव गराउने र गौतमलाई उम्मेदवार बनाउने विषयमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओली सहमत भइसकेका छन् । नेकपाका नेता गौतमले दुवै अध्यक्षले प्रतिनिधिसभामा ल्याउने विषयमा बचन दिइसकेको बताए ।

सरकारले डोल्पा र भक्तपुरको क्षेत्र नम्बर १ को ख मा समेत उपनिर्वाचन गर्ने तयारीमा छ । प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछी उनको क्षेत्र रिक्त छ । बुढाले राजिनामा दिएपछि उपनिर्वाचनको लागी सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागी आग्रह गर्नेछ ।

पर्यटनमन्त्री समेत रहेका सांसद बुढाले ११ हजार ७६१ मत ल्याएर बिजयी भएका थिए । उनी दोस्रो संविधानसभामा समेत राप्रपाबाट एमालेमा प्रवेश गरी चुनाव जितेका थिए । यार्शागुम्बाको कारोबार र ठेक्का पट्टामा संलग्न पर्यटनराज्यमन्त्री बुढा गौतम निकट नेताका रुपमा चिनिन्छन् ।

उनले यसअघि नै गौतमकै कारण डोल्पामा टिकट पाएका थिए । लामो समय एमालेको राजनिति गरेका नेताहरुलाई टिकट नदिएर एकैपटक बुढालाई टिकट नदिएको भन्दै डोल्पाको तत्कालिन एमालेको जिल्ला कमिटी नै विरोधमा लागेको थियो । स्थानीय नेताहरुको विरोधका बावजुत पनि गौतमले उनलाई टिकट दिलाएर नै छोडेका थिए । पर्यटन राज्यमन्त्री बनाउन पनि उनै गौतमको निर्णायक भुमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement