नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव मैले गरेको हो : वामदेव गौतम


काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले मुलुकको नयां नक्सा पार्टीको सामूहिक निर्णयप्रक्रियाअनुसार सार्वजनिक भएको बताएका छन् । बुधबार बिहान विज्ञप्ति जारी गर्दै उपाध्यक्ष गौतमले यसमा कुनै व्यक्तिको देवत्वकरण गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ’ गौतमले विज्ञप्तिमा भनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीसंग निकट भएको चर्चा भइरहेको बेला गौतमले जारी गरेको विज्ञप्ती अर्थपूर्ण छ । उनले नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीभित्र सशक्त विचार र जोडदार माग राख्दै आएको दावी समेत गरेका छन् । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफुले नै राखेको गौतमको भनाई छ ।

गौतमले सरकारका अरु काम आलोचना गर्नपर्ने खालका भएपनि अहिलेको निर्णय भने स्वागतयोग्य भएको धारणा राखेका छन् । उनले भनेका छन् ‘ सिमाना व्यवस्थापनसंग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ’

प्रतिक्रिया दिनुहोस
Advertisement