डेढ वर्षदेखि बन्धक बनाइएकी रमिलाको उद्धार


खोटाङ – डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ ।

विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमानसंगै थप उपचारका लागि काठमाडौं पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् ।

‘तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,’ अध्यक्ष राईले भने । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो ।

उनको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीले बताएका छन् । तामाङको उपचारका लागि तत्काल १० हजार सहयोग गरिएको राईले बताए । तामाङका एक छोरी र एक छोरा छन् । तामाङका श्रीमान् खेती किसानी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement