काठमाण्डु-बंगलादेशको विद्यार्थी आन्दोलनको नेतृत्व गरेका दुई विद्यार्थी नेता मन्त्री बनेका छन् । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले हिजो बेलुका बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा शपथ लिएसँगै उनको सरकारमा विद्यार्थी नेतासमेत समेटिएका हुन् । युनुसले अन्तरिम सरकारमा १६ सदस्य समावेश गरेका छन् । तीमध्ये नहिद इस्लाम र आसिफ महमुद आरक्षणविरुद्धको आन्दोलनका अगुवा विद्यार्थी नेता हुन् ।
बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले राष्ट्रपति भवन ढाकामा विदेशी कूटनीतिज्ञ, नागरिक समाजका सदस्य, शीर्ष व्यापारीहरू र पूर्व विपक्षी दलका सदस्यको उपस्थितिमा युनुसलाई मुख्य सल्लाहकारका रूपमा शपथ गराएका हुन् । मुख्य सल्लाहकार प्रधानमन्त्री पद बराबर हो । शपथ ग्रहण समारोहमा हसिनाको पार्टीका कुनै पनि प्रतिनिधि सहभागी थिएनन् ।
सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा जुलाईमा सुरु भएको अराजक प्रदर्शनपछि सोमबार हसिनाले पदबाट राजीनामा गरेकी थिइन । आलोचकहरूले आरक्षण प्रणालीले हसिनाको पार्टीसँग सम्बन्ध भएका मानिसको पक्ष लिएको बताएका थिए ।
बढ्दो हिंसाका बीच विद्यार्थीसहित तीन सयभन्दा बढीको मृत्यु भएपछि विरोध प्रदर्शन चाँडै नै हसिनाको १५ वर्षको शासनका लागि ठूलो चुनौती बन्यो । सन् २००६ मा नोबेल शान्ति पुरस्कार प्राप्त युनुसलाई अन्तरिम भूमिका निर्वाह गर्नका लागि चयन गर्दा २०२४ ओलम्पिकका लागि फ्रान्सको राजधानी पेरिसमा थिए । उनी कडा सुरक्षाबीच ढाका विमानस्थलमा बिहीबार स्वदेश फर्किएका हुन् । उनी फर्किए लगत्तै शपथ भएको हो ।
उनले आफ्नो प्राथमिकता व्यवस्था पुनःस्थापना गर्नु रहेको बताए । युनुस मन्त्रिपरिषद्को सल्लाहकार सदस्य बनेका स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन ग्रुपका शीर्ष नेताहरू नाहिद इस्लाम र आसिफ महमुद अहिले चर्चामा छन् । उनीहरुले हप्तौँ लामो विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।
प्रतिक्रिया