बङ्लादेशका सेना प्रमुख काठमाडौं आए, यस्तो छ कार्यक्रम


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा बङ्लादेशका सेना प्रमुख जनरल अजिज अहमद काठमाडौं आइपुगेका छन् । पाँचदिने नेपाल भ्रमणका लागि आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मल कुमार थापाले स्वागत गरेका थिए ।

सेनाले अहमदलाई शनिबार टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुका साथैे जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा अहमदले पोखरास्थित पश्चिम पृतना मुख्यालय तथा महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अहमदले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग आइतबार भेटवार्ता गर्नेछन् ।

यस्तै अहमदले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने निर्देशनालयले जनाएको छ । सोही दिन नेपाली सेनाको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । पाँच दिने औपचारिक भ्रमण पूरा गरी उनी २८ माघमा स्वदेश फर्कनेछन् ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बाङ्लादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement