लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक, १० हजार विरुवा रोपिने

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक, १० हजार विरुवा रोपिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनले वातावरण संरक्षण र जलवायु पारदर्शितातर्फ बैंकले लिएको गम्भीर जिम्मेवारीलाई पुष्टि गर्नुका साथै दीगोपन रणनीतिमा आधारित बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धता झल्काएको छ ।

बैंकले ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ पद्धति अनुरूप तयार पारेको प्रतिवेदनमा ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूबाट उत्सर्जित कार्बनको परिमाणको मूल्यांकन गरिएको छ । प्रतिवेदन अनुसार २०८०/८१ मा बैंकका सम्पूर्ण मूल्यांकन गरिएका ऋण पोर्टफोलियोहरूमार्फत २ लाख २ हजार १३ दशमलव ४२ टन कार्बन डाइअक्साइड बराबरको उत्सर्जन भएको छ ।

त्यसमा व्यापार कर्जाबाट सबैभन्दा धेरै अर्थात् १ लाख ९० हजार २९३ दशमलव ४२ टन उत्सर्जन भएको देखिएको छ । त्यसपछि घर कर्जाबाट ९ हजार ४८५ दशमलव ४६ टन, गाडी कर्जाबाट १ हजार ५२८ दशमलव ९८ टन र जलविद्युतबाहेक अन्य परियोजना वित्तको कर्जाबाट ७०५ दशमलव ५६ टन उत्सर्जन भएको उल्लेख गरिएको छ ।

बैंकले लगानी गरेको जलविद्युत् परियोजनाहरूले भने २० हजार ३४७ दशमलव ११ टन उत्सर्जन रोक्न सहयोग पुर्‍याएको अनुमान गरिएको छ । यसले स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनप्रतिको बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

नेपाल सरकारले सन् २०४५ सम्म नेट शून्य उत्सर्जनको लक्ष्य लिएको सन्दर्भमा बैंकले समेत आफ्नो भूमिकालाई दीगो बनाउँदै ग्रीन फाइनान्स, ऊर्जा–कुशल कर्जाहरू, वातावरणीय जोखिम व्यवस्थापन जस्ता क्षेत्रहरूमा सक्रियता बढाइरहेको छ । बैंकले आफ्ना आन्तरिक प्रणाली तथा सेवा अभ्यासहरूमा थ्रीआर (रिड्युस, रियुज, रिसाइकल) दृष्टिकोणलाई प्रवद्र्धन गर्दै आएको छ ।

यी सबै प्रयासहरूसँगै बैंकले चालू आर्थिक वर्षमा ‘मिसन १० हजार’ नामक वृक्षारोपण अभियान सञ्चालनमा ल्याएको छ । हालसम्म कार्यक्रमअन्तर्गत ७ हजार ५०० भन्दा बढी रूखहरू रोपिइसकेका छन् । बैंकले वातावरणीय योगदानलाई मात्र सैद्धान्तिक घोषणामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ भन्ने मान्यताअनुसार यस्ता क्रियाकलाप अघि सारेको स्पष्ट संकेत अभियानले दिएको जनाइएको छ ।

बैंकले भविष्यमा पनि आफ्नो कार्बन उत्सर्जनको मापन प्रक्रियामा थप पारदर्शिता र जवाफदेहिता ल्याउन थप कर्जा वर्गहरू समेट्ने लक्ष्य लिएको छ । यी सबै कदमहरू लक्ष्मी सनराइज बैंकको समग्र दीगोपन रणनीतिका महत्वपूर्ण अङ्ग रहेका छन् ।