भोलि बाँकेमा मदिरा बिक्रीवितरण र उपभोग गर्न निषेध


नेपालगञ्ज – बाँके जिल्लामा भोलि बुधबारका दिन मदिरा बिक्रीवितरण र उपभोग गर्न निषेध गरिएको छ ।

बडादशैंको भोलिपल्ट बुधबार निस्किने दुर्गा मूर्ति बिसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले मदिरा बिक्रीवितरण तथा उपभोग निषेध गरेको जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा बुधबार बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्रीवितरण र उपभोग निषेध गरिएको जनाइएको छ ।

सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानून बमोजिम कारबाही गरिनेछ । प्रशासन कार्यालयले दुर्गा मूर्ति बिसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ ।

दुर्गा भवानीको मूर्ति बिसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवं शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति बिसर्जन सम्पन्न गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँकेमा बडादशैंको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा बिसर्जन गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement