दुर्गा मुर्ति बिसर्जनअघि बाँकेमा सुरक्षा व्यवस्था कडा, नेपाल–भारत सीमामा निगरानी


नेपालगञ्ज – दुर्गा भवानीको मूर्ति बिसर्जनलाई शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

मूर्ति बिसर्जनलाई सभ्य बनाउन नेपालगञ्जको सुरक्षा व्यवस्थालाई कडा पारिएको र जिल्लामा करीब १ हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका ३१ स्थानलाई केन्द्रित गरेर बढी सतर्कता अपनाइएको उनले बताए । संवेदनशील थानमा १२ घण्टा अघिदेखि नै सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको छ ।

सुरक्षालाई थप चुस्त दुरुस्त बनाउन नेपाल–भारत नाकामा पनि विशेष सतर्कता अपनाइएको छ ।

भारतबाट आउने भारतीय परिचयपत्र भएका नागरिकलाई आवश्यक कामबाहेक १ दिनका लागि आउन कडाइ गरिएको छ । जिल्लाको सुरक्षा व्यवस्था चुस्त पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको १/१ वटा कमान्ड पोस्ट स्थापना गरिएको छ ।

नेपाल प्रहरीको १६ वटा मोबाइल टोलीद्वारा २४ सै घण्टा गस्ती गरिने व्यवस्था गरिएको छ । २ जना प्रहरी निरीक्षकको कमान्डमा स्कर्टिङ ड्युटी परिचालन गरिएको र आकस्मिक उद्धार र मद्दतका लागि १० वटा ‘क्वीक रेस्पोन्स’ समूह तयारी अवस्थामा राखिएको पोखरेलले बताए ।

सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्लामा नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल प्रहरीका १ हजार १३ जना र सशस्त्र प्रहरीका ४९५ जना गरी कूल १ हजार ५०८ सुरक्षाकर्मी परिचालन गरिएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement