‘बर्खास्त’ हुनै लागेका आईजीपीको खतरनाक प्रपञ्च, निर्दाेषलाई फसाउन खोज्दा उल्टै फसे


काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारी–हत्यारालाई सार्वजनिक गर्न नसकेको विषय सरकार र प्रहरीका लागि चुनौतीपूर्ण बनेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको असक्षमता निर्मला प्रकरणमा झल्किएको छ ।

साउन १० गते भएको हत्याको स्पष्ट चित्र अझै सार्वजनिक हुन सकेको छैन । निर्मलालाई न्याय माग्दै सडकमा जनदबाब चलिरहेका बेला मंसिर १९ गते एकाएक खबर आयो – निर्मला हत्या प्रकरणमा शंकास्पद एक युवा काठमाडौंबाट पक्राउ परे । हत्या प्रकरणमा थुप्रै युवा पक्राउ पर्ने र छाड्ने क्रम चलिरहेकै थियो । तर प्रहरीको लामो अनुसन्धानपछि विशेष महत्त्वका साथ ती युवा पक्राउ परेको सूचना आईजीपीकै सचिवालयबाट चुहाइएको थियो ।

आशा जाग्यो – प्रहरी नेतृत्वबाटै अभियुक्त पक्राउ गरेको सूचना आउनु सामान्य होइन । अपराधी पक्राउ परे । त्यो दिन पक्राउ परेका अभियुक्तको नाम सार्वजनिक भएन । अर्काे दिन पक्राउ परेका अभियुक्त प्रदिप रावल भएको खुल्यो । पर्दा थप खोलिँदै गए – प्रदिप रावलले हत्या गरेको स्वीकार्दै बयान दिए, रावललाई सघाउने थप दुई जना कञ्चनपुरमा पक्राउ परे । हत्याराहरूले निर्मलालाई बलात्कार र हत्या गर्दाको घटनाक्रम पनि सुनाए भनियो ।

सूचना चुहाउने काम आईजीपी सचिवालयमा मात्रै सीमित रहेन । सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नै निर्मला पन्तका हत्यारा सार्वजनिक गर्ने तयारी भइरहेको र प्रक्रिया मिलाएर सार्वजनिक गरिने बताए । आईजीपी सर्वेन्द्र खनालले पत्रकारलाई मात्रै होइन, सरकारलाई पनि निर्मला प्रकरणमा ‘सुखद’ सञ्चार गरिसकेका थिए ।

आईजीपीको प्रपञ्च
निर्मलाका हत्यारा सार्वजनिक हुने सफल समय पर्खेर बसेका नेपाली त्यतिबेला निराश भए, जतिबेला प्रदिप रावल र विशाल चौधरीको हत्या घटनामा संलग्नता नहुन सक्ने खबर आए । यो खबर सार्वजनिक हुँदासम्म प्रहरी स्रोत हत्यारा प्रदिप नै हो भनेझै सूचना चुहाइरहेको थियो । आधिकारिक स्रोतमार्फत् सूचना नआएपनि आईजीपीको सचिवालय र निकट स्रोतले पत्रकारलाई अनुसन्धानबारे अपडेट दिइरहेको थियो । केन्द्रीय अनुसन्धान विभाग (सिआइबी) मुख्यालयमा आईजीपी खनाल आफैं गएर प्रदिपको बयान लिएको र अपराध स्वीकारेका सूचनासम्म सार्वजनिक गरिए ।

डीएनएको रिपोर्ट नआउँदै, संलग्नताको स्पष्ट आधार नहुँदै प्रहरीले सूचना चुहाइरहेको थियो । हिरासतमा रहेका प्रदिपलाई चरम यातना दिएर अपराध कबुल गर्न बाध्य पारियो कि ? प्रहरीबाट कुटाइ खानुभन्दा त कबुल गर्न उपयुक्त सम्झे होलान् प्रदिपले । स्रोतका अनुसार आईजीपी खनालले आफैं बयानमा सक्रिय भएर प्रदिपलाई अपराध स्वीकार्न बाध्य पारे ।

प्रदिप रावल र विशाल चौधरीले मिलेर सामुहिक बलात्कार र हत्या गरेको सूचना आएपछि सरकारका मन्त्री समेत आईजीपीको सूचना विश्वस्त भएका हुन सक्छन् । तर निर्मलाको बलात्कार भएको दिन साउन १० गते प्रदिप र विशाल कुुखुरा चोरीको आरोपमा प्रहरी हिरासतमा रहेको तथ्य सार्वजनिक भएपछि आईजीपी सर्वेन्द्र खनालको प्रपञ्च प्रष्ट भयो । आईजीपीले दोषी करार गराउँदै अनुसन्धान गरिरहेका प्रदिप र विशालमाथि निलम्बित डीएसपी अंगुर जिसी नेतृत्वको सीआईबी टोलीले उहिल्यै अनुसन्धान गरेर कुनै संलग्नता नदेखिएपछि छाडेका थिए । तर आईजीपी खनालले उनैलाई पक्राउ गरेर किन अपराधी करार गर्न खोजे ?

यसअघि कञ्चनपुरमै तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र सीआईबीका डीएसपी अंगुर जिसीले दिलिपसिंह विष्टलाई जबर्जस्ती मुख्य अभियुक्त बनाउँदै सार्वजनिक गरेका थिए । दिलिपले समेत अपराध स्वीकारेको भनिएको थियो । तर अन्तिममा निर्मलाको भजाइल स्वावमा मिलेको सुक्रकिटसँग दिलिपको डीएनए नमिलेको भन्दै उनलाई छाडियो ।  यसरी जबर्जस्ती दिलिपलाई अपराधी बनाउन खोजेको भनेर आक्रोशित सर्वसाधारणले आन्दोलन गरेपछि एसपी डिल्लीराज विष्ट हाल प्रहरी सेवाबाट निष्कासन भएका छन् । संवेदनशील बनेको निर्मला हत्या प्रकरणमा आईजीपी सर्वेन्द्र खनालले पनि प्रदिपले अपराध स्वीकारेको भनेर प्रचार गराउँदै किन अपराधी बनाउन खोजे ?

बर्खास्तीबाट बच्ने उपाय ?
आईजीपी खनालले प्रदिपबारे सूचना चुहाउनुअघि अथवा प्रदिप पक्राउ पर्नुअघि नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव, आईजीपी खनाल र सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठक गृह मन्त्रालयमा बसेको थियो । स्रोतका अनुसार बैठकमा निर्मलाका हत्यारा पत्ता लगाउन नेपाली सेना, केन्द्रिय अनुसन्धान व्युरो लगायत सुरक्षा निकाय र स्वतन्त्र विज्ञहरू सम्मिलित विशेष टोली गठन गर्ने चर्चा चल्यो । त्यतिबेला आईजीपी झस्किए ।

निर्मला हत्या अनुसन्धानमा प्रहरी बाहेकका सुरक्षा निकायको समेत संलग्नता हुने भएपछि त्यो समिति आईजीपी मातहत हुने भएन । सँगसँगै आईजीपी खनालको नेतृत्वले अपराधी पत्ता लगाउन नसकेको गृह मन्त्रालयको निष्कर्ष समेत पुष्टि हुने भयो । यसरी विज्ञ समिति बनाउने प्रस्तावमा आईजीपी सकारात्मक देखिएनन् । यससँगै सरकारले आफूलाई बर्खास्त गर्न सक्ने सूचना समेत आईजीपी खनालले पाए । त्यसपछि आईजीपी खनाल तत्काल नतिजा देखाउनुपर्ने दबाबमा परे ।

आफू असक्षम ठहरिने र बर्खास्त हुन सक्ने देखेपछि आईजीपी एक्सनमा उत्रिए । तर एक्सन नक्कली सावित हुँदै गएको छ । प्रदिप र विशाललाई अपराधी बनाएर आईजीपी सर्वेन्द्र खनाल ‘हिरो’ बन्न खोजेको आशंका बलियो हुँदै गइरहेको छ । तर आफू हिरो बन्न निर्दाेषलाई फसाउन खोज्ने नियत चाहिँ खतरनाक संकेत हो । प्रदिप र विशाललाई फसाउन सकिने देखेपछि आईजीपीको सचिवालयले उनीहरूको समूहका अर्का चन्द थरका व्यक्ति फरार रहेको र चन्द थरका व्यक्तिको डीएनए मिल्न सक्ने भनेर प्रचार गरिरहेको छ । प्रहरी नेतृत्वमा यस्ता खतरनाक प्रपञ्च रच्ने व्यक्ति रहिरह्यो भने अरु कति धेरै निर्दाेषले फस्नुपर्ने हो भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस
Advertisement