खुर्कोट पुगेर ऊर्जामन्त्रीले भने–सुनकोशी मरिन अायाेजना यसै वर्षबाट अगाडि बढ्छ’


काठमाडौं – ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन्।

डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सिन्धुलीको खुर्कोट पुगेर ऊर्जामन्त्री पुनले निरीक्षण गरेका हुन्।

सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पूूर्वकृषिमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसँगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको विस्तृत सर्वे चार महिनाभित्र सम्पन्न हुने जानकारी दिए।

ऊर्जामन्त्री पुनले आयोजनाको ड्यामस्थलको भ्रमण गर्नुका साथै परियोजनाका प्रमुख सुशील आचार्यसहित स्थानीय जनप्रतिनिधिसँग समेत छलफल गरे।

उनले आयोजनाका लागि स्रोतको ग्यारेण्टी गर्न सकियो भने यसै आर्थिक वर्षभित्र परियोजना अघि बढाउने बताए। मन्त्री पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउंने घोषणा समेत गरे। मन्त्री पुनले भने, ‘यो बहुउद्देश्यीय परियोजना हो। परियोजना सरकार, प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको छ।’

उनले उक्त परियोजनालाई अघि बढाउन स्थानीय जनता र जनप्रतिनिधिहरुलाई सहयोग गर्न पनि आग्रह गरे। मन्त्री पुनले विकास र पूूर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल, पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने माध्यमको रुपमा समेत उपयोगि हुने धारणा राखे।

सुनकोशी मरिन डाईभर्सन परियोजना तराई मधेसको कोर दुई नम्बर प्रदेश र पहाडको १ लाख २२ हजार हेक्टरमा सिंचाई सुविधा पुग्ने अनुुमान गरिएको छ।

 ‘यसले हिमाल, पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता समेत निर्माण गर्छ,’ मन्त्री पुनले भने। उनले यो परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने बताए।। ४ महिनाभित्र विस्तृत रिपोर्ट आइसकेपछि यहि आर्थिक वर्षभित्र काम अघि बढाउने जानकारी समेत मन्त्री पुनले दिए।

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ हुनुका साथै मरिन भ्यालीमा पनि सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । त्यसका साथै उक्त आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।

आयोजनाका प्रमुख सुशील आचार्यले उक्त परियोजनाबाट दुई नम्बर प्रदेशलाई खानेपानीको लागि पानी उपलव्ध गराउने लक्ष्य समेत राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement