एमाले र माओवादीबीच कार्यदिशामा मतान्तर छैन, सहकार्यको विकल्प छैन : वर्षमान पुन


काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेकपा एमाले र माओवादीबीच कार्यदिशामा मतान्तर नरहेकाले सहकार्यको विकल्प नभएको बताएका छन् ।

मार्क्सवादी अध्ययन केन्द्रले बुधवार राजधानीमा गरेको ‘आजको वामपन्थ’ शीर्षकको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका कारण जनतामा निराशा बढेको बताए ।

नेकपा बचाउन नसक्नुमा शीर्षस्थ नेताहरु दोषी रहेको उनले बताए । ‘नेकपाको एकता टिकाउन सक्नुपर्थ्यो,’ उनले भने, ‘म पनि त्यतिखेरको सरकारको मन्त्री भएका कारण जिम्मेवारी त लिन्छु तर मुख्य जिम्मेवारी नेताहरुले नै लिनुपर्छ ।’

झापादेखि एमालेले गरेका संघर्षको स्वामित्व आफूहरूले लिने भन्दै १० वर्षे माओवादी जनयुद्धको स्वामित्व लिन र शान्ति प्रक्रियाका बाँकी काममा सहकार्यको हात बढाउन पुनले एमाले नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले भने, ‘०६२/०६३ को जनआन्दोलन कम्युनिस्टहरूको नेतृत्वमा भएको हो । त्यसको स्वामित्व लिऔं । एकअर्काप्रति लक्षित घोचपेच छाडेर शान्ति प्रक्रियाका काममा सहकार्य गरौं ।’

तत्कालै वर्तमान सत्ता गठबन्धन र सरकार परिवर्तन नभए पनि शान्ति प्रक्रियाको पूर्णता, गणतन्त्रसहित राजनीतिक परिवर्तनमाथि दक्षिणपन्थी शक्तिबाट हुन थालेका प्रहारको प्रतिवाद गर्नुपर्ने समय आएको उनले बताए ।

संविधान कार्यान्वयनसहित देश विकासका एजेन्डामा एमाले–माओवादी सहकार्यको विकल्प नरहेको उनले बताए । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, समानुपातिक प्रतिनिधत्वका एजेन्डामाथि राजावादी र केही नयाँ भनिने शक्तिले प्रहार केन्द्रित गरेका बेला परिवर्तन ल्याउन भूमिका खेलेका सबै प्रमुख राजनीतिक शक्तिबीच सहकार्य हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement