काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् वर्षमान पुन अनन्तले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ मागेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले उक्त घटनाले स्तब्ध बनाएको बताए ।
उनले इलामका युवा कृषक प्रेम आचार्यले १० माघ २०७९ मा बानेश्वरमा आत्महत्या गर्दा हालका प्रधानमन्त्री एवं तत्कालीन काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा गरेको पोष्ट पढेर सुनाए ।
‘गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ । म उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्छु । यो सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाइरल भइराखेको सम्माननीय प्रधानमन्त्रीज्यूको २६ जनवरी २०२३ को एउटा स्टाटस छोटोमा उद्धृत गर्न चाहन्छु’, पुनले अगाडि भने, ‘एक जना नागिरक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्दो कर्म गर्छन् । एक जना नागिरक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत बर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागिरक संसद् भवन अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण, धेरै संकेतहरु होलान् । तर, सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।’
पुनले गणेश नेपालीको आत्मदाह प्रकरणबारे पनि प्रधानमन्त्री बालेनको सोही धारणा छ वा परिवर्तन भयो ? भन्ने प्रश्न गरे ।
उनले गणेश नेपाली आत्मदाह प्रकरण राज्यको असफलता हो कि होइन भनेर सोधे ।
‘प्रधानमन्त्रीज्यू हुनुहुन्छ । नयाँ नयाँ विश्वासका साथ उहाँ जनमतसहित आउनुभएको छ । के यो राज्यको असफलता हो ? या गरिब, दुःखी, सुकुम्बासीहरु संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन् ? उनीहरुले गरिखान पाउँदैनन् भन्ने संकेत हो ? सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु । यही दृष्टिकोण आज छ कि आज बदलियो सत्तामा गइसकेपछि ?’




प्रतिक्रिया