रोल्पा पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश र विदेशका नेपालीलाई वर्षमानको अपिल

रोल्पा पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश र विदेशका नेपालीलाई वर्षमानको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई पछिल्ला दिनमा आफ्नो गृहजिल्लामा बाढीपहिरोको विपदबाट पीडित भएका नागरिकलाई सहयोग गर्न अपिल गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेपछि सामाजिक सञ्जालमार्फत पुनले सहयोगको अपिल गरेका हुन् ।

उनले तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।

विपद्पीडितहरूको अन्य राहत व्यवस्थापनका लागि समेत आवश्यक पहल अघि बढाइसकेको भन्दै उनले पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्‍याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने बताए ।

‘तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने एक महिनाको तलब बाढी–पहिरोपीडितका लागि प्रदान गर्ने जानकारी गराउँदछु । साथै, विपद्पीडितहरूको अन्य राहत व्यवस्थापनका लागि समेत आवश्यक पहल अघि बढाइसकेको छु । पीडित परिवारसम्म राहत यथाशीघ्र पुर्‍याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिनेछ’, पुनले लेखेका छन्, ‘देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई यस विपद्मा परेका परिवारहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सक्दो सहयोग गर्न हार्दिक आह्वान गर्दछु ।’

लगातारका विपद्ले सिंगो रोल्पालाई गहिरो शोकमा डुबाएको भन्दै उनले बाढी–पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । पुनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

पहिरो तथा बाढीपीडितहरूको तत्काल उद्धार, उचित राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न उनले प्रदेश तथा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले बाढी–पहिरोपीडितको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

वर्षायाममा सम्भावित प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सतर्कता अपनाउन, जनस्तरमा सचेतना फैलाउन तथा उद्धार र राहतको पूर्वतयारीलाई प्रभावकारी बनाउन उनले सबैमा आग्रह गरेका छन् ।

विपद्को यस कठिन घडीमा उद्धार, राहत तथा सहयोगमा जुटिररेका स्थानीय सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासी सबैप्रति धन्यवाद व्यक्त गरेका छन् ।

पुनले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भेटेर पहिरो प्रभावितको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ४ बुँदे माग पेस गरेका थिए ।

रोल्पाको थवाङमा बुधबार राति पहिरोमा परी १० जना र सुनछहरी गाउँपालिकामा बिहीबार राति तीन जनाको ज्यान गएको थियो ।