नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै पुरानो अभिव्यक्ति स्मरण गराउँदै सरकारको धारणाबारे जवाफ मागेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले प्रेमप्रसाद आचार्यको आत्मदाहपछि २०२३ जनवरी २६ मा तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटस उद्धृत गरे।
उक्त स्टाटसमा शाहले ‘आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो’ भनेका थिए।
त्यही अभिव्यक्ति स्मरण गराउँदै पुनले अहिले गणेश नेपालीको आत्मदाहलाई प्रधानमन्त्रीले कसरी हेरेका छन् भन्ने प्रश्न उठाए।
‘गणेश नेपालीको आत्मदाह प्रकरणबारे पनि प्रधानमन्त्रीको त्यही धारणा छ कि परिवर्तन भयो? प्रधानमन्त्रीज्यू नयाँ विश्वास र जनमतसहित आउनुभएको हो,’ उनले भने, ‘के यो पनि राज्यको असफलता हो?’
उनले गरिब, दुःखी र सुकुम्बासी नागरिकले राजधानीमा समेत सम्मानपूर्वक बाँच्न र जीविकोपार्जन गर्न नसक्ने अवस्था सिर्जना भएको हो कि भन्ने प्रश्नसमेत गरे।
‘या गरिब, दुःखी, सुकुम्बासीहरू संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, गरिखान पाउँदैनन् भन्ने संकेत हो? सरकारको यसमा ध्यान जाओस्,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूको त्यही दृष्टिकोण आज पनि छ कि सत्तामा पुगेपछि बदलियो? यसको जवाफ चाहन्छु।’




प्रतिक्रिया