काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनले विपद्का बेला उद्धार तथा राहतका लागि प्रयोग हुनुपर्ने हेलिकोप्टर मन्त्रीको व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएको सरकारको विरोध गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्न आग्रह गरे ।
उनले अहिले मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोको विपद् व्यवस्थापन, राहत, उद्धार र पुनःस्थापनामा प्रयोग हुनुपर्ने हेलिकप्टर मन्त्रीहरुको जिल्ला भ्रमणमा प्रयोग भइरहेकामा आपत्ति जनाए ।
जाजरकोट, रोल्पा, बागलुङलगायत जिल्लाका बाढीपहिरो प्रभावित क्षेतमा अझै पर्याप्त उद्धार र पुनःस्थापनाको काम अघि बढ्न नसकेका बेला मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर प्रयोग गरिनु आपत्तिजनक रहेको उनको भनाइ थियो ।
‘एकातिर विपद् छ, रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्याउनुपर्ने छ । अर्कातिर एक जनामन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ अनि हेलिकोप्टर पठाइन्छ,’ उनले भने, ‘रेस्क्युमा काम हुँदैन, पुनःस्थापनाका लागि काम हुँदैन, त्यहाँ पुर्याउनुपर्ने सामग्री पुग्दैनन् र मन्त्रीलाई सेनाको स्काई ट्रकबाट काठमाण्डु ल्याइन्छ र, के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ’, पुनले भने, ‘यस्तो गैरजिम्मेवार ढंगले राज्य चल्न सभामुख महोदय ? यसतर्फ म सम्माननीय सभामुखज्यूमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । आफ्ना मन्त्रीज्यूहरुलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् ।’
सुदूरपश्चिमका पहाडी जिल्ला भ्रमणमा गएका बेला रुघाखोकी र ज्वरो आएपछि मन्त्री लम्साल केही दिनअघि सेनाको स्काई ट्रक बोलाएर काठमाण्डु फर्र्किएका थिए ।
पुनले जनप्रतिनिहरु जनतामा जानु राम्रो भए पनि विपदको समयमा काम गर्न छाडेर गृह जिल्ला गोरखा गएका गृहमन्त्री सुधन गुरुङले आफ्ना मतदातालाई भोट फिर्ता लिन धम्की दिएकामा आपत्ति जनाए । चुनावका बेला गरेका बाचा मतदाताले सम्झाउँदा मन्त्रीले धम्की दिन नमिल्ने बताए ।
‘गृहमन्त्री आफ्नै निर्वाचन क्षेत्रमा गइराख्नुभएको छ । राम्रो कुरा हो, जनप्रतिनिधि निर्वाचन क्षेत्रमा जानु, मतदाताकोमा जानु’, उनले भने, ‘ मतदाताले आफ्नो विगतका प्रतिबद्धताको जवाफ खोज्छन् । उहाँले आफ्नो मत फिर्ता लानुस् भनिराख्नुभएको छ । तर, हामीले यहाँ गृहमन्त्रीलाई खोज्दैछौं ।’
विपद् प्रतिकार्य, रेस्क्यु के भए, पुनःनिर्माण र पुनस्र्थापनाका लागि भए/गरेका काम तथा राहत सामग्री कसरी पु¥याइएको छ भन्नेबारे गृहमन्त्री गुरुङले सदनलाई जानकारी दिनुपर्ने माग उनले राखे । पुनले त्यसका लागि गृहमन्त्री गुरुङलाई रुलिङ गर्न सभामुखसँग माग गरे ।
विपद्पछिको पुनःनिर्माणका लागि भौगर्भिक अध्ययन टोली पठाएर जोखिमयुक्त स्थानका बस्तीलाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्ने स्पष्ट योजना बनाउन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विपद् उद्धार तथा राहतका लागि सुर्खेतलाई केन्द्र बनाएर हेलिकोप्टर र अन्य साधन राखिएको उल्लेख गर्दै पुनले ती साधनको प्रभावकारी उपयोग हुन नसकेको औंल्याए ।




प्रतिक्रिया