ऊर्जामन्त्री पुन नर्भिक अस्पताल भर्ना, प्रधानमन्त्रीसहित मन्त्रीहरु पुगे भेट्न


काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

बिहीबार बेलुका ५ बजे पुल्चोकस्थित मन्त्री क्वाटरमा  एक्कासि अस्वस्थ भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनका नीजि सचिव दुर्गाप्रसाद चापागाँईले जानकारी दिए।

सभामुख कृष्णमबहादुर महराका अनुसार मन्त्री पुनको अवस्था सामान्य रहेको छ। ‘भर्खरै म नर्भिक हस्पिटल पुगेर ऊर्जामन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्था बुझेर आएँ । उपचारमा संलग्न डाक्टरहरुको टोलीले उहाँको अवस्था सामान्य रहेको तर आज हस्पिटलमै राखेर उपचार गरिने मलाई जानकारी गराएको छ । म मन्त्री पुनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ महराले ट्वीट गरेका छन्।

नर्भिक अस्पतालका चिकित्सक डा. यादव भट्टसहितको चिकित्सक टोलीले मन्त्री पुनको उपचार गरिरहेको जनाइएको छ।  डा भट्टका अनुसार मन्त्री पुनको ब्लड प्रेसर सामान्य छ, भने मुटुको धड्कन केही तलमाथि भएपनि अवस्था सामान्य रहेको छ।

मन्त्री पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि अस्पताल पुगेका थिए। यसैगरी, सभामुख महरासँगै वनमन्त्री शक्ति बस्नेत, कानूनी मन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मा लगायत नेताहरू पनि अस्पताल पुगेका थिए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement