काठमाण्डु–प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधिसभा बैठकमा आइतबार सांसदका प्रश्नको जवाफमा उनले भारतको नेपाले मात्र नभई नेपालतर्फबाट पनि भारतको ‘जग्गा मिचिएको’ अभिव्यक्ति दिएका थिए ।
काँग्रेस प्रमुख सचेतक बासना थापाले नेपालका तर्फबाट भारतको भूमि कहाँ मिचिएको भन्नेबारे प्रधानमन्त्रीले स्पष्ट गर्नुपर्ने बताइन् । उक्त अभिव्यक्ति गलत भए संसदको अभिलेखबाट हटाउन उनले माग गरिन् ।
‘प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो, कहाँनेर मिचिएको हो ? यो विषयमा हामीलाई छिटोभन्दा छिटो जानकारी गराउनुपर्यो’, उनले भनिन्, ‘ प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिन पर्यो । यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
त्यसअघि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले लिपुलेक र लिम्पियाधुरा हुँदै भारत र चीनले मानसरोवर यात्रा थालेकोबारे प्रधानमन्त्री शाहलाई प्रश्न सोधेका थिए ।
जवाफमा प्रधानमन्त्रीले भारतले मात्र नभई नेपालले पनि भारतीय भूमि मिचेको बताए । ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ । भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’, प्रधानमन्त्री शाहले भने, ‘यो कुरा अस्ती भर्खर थाहा भयो ।’




प्रतिक्रिया