काँग्रेसले बालेनलाई सोध्योः तपाईंले लगाएको कालो चस्माले मृत्युको रङ पनि फरक–फरक देखिन्छ ?

काँग्रेसले बालेनलाई सोध्योः तपाईंले लगाएको कालो चस्माले मृत्युको रङ पनि फरक–फरक देखिन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको कप्तान गञ्जमा भएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको मौनतालाई लिएर प्रश्न उठाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा काँग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ कहाँ छन् भन्ने प्रश्न गरिन् ।

सुनसरीमा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था कसरी आयो भन्नेबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताइन् ।

‘कप्तानगन्जमा नेपाली युवाले ज्यान गुमाएका छन् । दर्जनौँ युवालाई गोली लागेर एउटा परिवारले आफ्नो छोरा गुमाएको छ’, उनले भनिन्, ‘एउटा आमाले आफ्नो कोख रित्याएकी छिन् । एउटा बाबुले आफ्नो सहारा गुमाएको छ । तर घटनापछि सरकार मौन छ ।’

उस्तै घटनामा विगतमा काठमाण्डु महानगरपालिकाको प्रमुख हुँदा आक्रोश पोख्ने प्रधानमन्त्री शाह र आँसु बगाउने गृहमन्त्रीको मौनताले न्यायप्रतिको नागरिकको विश्वास र राज्यप्रतिको भरोसा कमजोर बनाएको आरोप उनले लगाइन् ।


गत २३ भदौमा जेनजी आन्दोलनकारीको मृत्यु हुँदा तत्कालीन मेयर शाहले गरेको फेसबुक पोष्ट पढेर सुनाइन् ।

उनले सरकारका हुँदा र नहुँदा फरक व्यवहार भएको भन्दै उनले सरकारको संवेदनशीलता हराएको टिप्पणी गरिन् ।

‘नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो ? त्यो आवाज आज किन सुनिदैन ? तपाईंले लगाएको कालो चस्माले मृत्यु र पीडाको रङ पनि फरक–फरक देखिन्छ ?’, उनले प्रश्न गरिन् ।

उनले बालेनको स्टाटस पढेर सुनाइन, ‘ तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा–छोरीको मृत्युको पीडा बुझ्थिस् । यस्तो आतंकवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस् ।’