बसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो होली


काठमाडौँ – फागु पर्व अर्थात रंगहरुको उत्सव होली बिहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए। नेपाल पञ्चाङ्ग निर्णयक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो। बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथादाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो।

होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ। होली धार्मिक तथा सांस्कृतिकसँगै सामाजिक महत्व बोकेको पर्व हो। धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए। तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, सांस्कृतिक र सामाजिक महत्व छ। असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिन्छ।  फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ। यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ। होलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ।

प्रतिक्रिया दिनुहोस
Advertisement