काठमाण्डु – वित्तीय आचरणसँग सम्बन्धित आरोपमा नाम मुछिएपछि गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङको सम्बन्धमा भारतीय विज्ञहरूले टिप्पणी गरेका छन् ।
गुरुङको राजीनामा एक विवादास्पद व्यवसायीसँग कथित व्यापारिक सम्बन्ध र सेयर कारोबारलाई लिएर बढ्दो आलोचनाका बीच आएको हो ।
उनलाई चैत १३ गते गृहमन्त्री नियुक्त गरिएको थियो । यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पदको दुरुपयोग गरी पत्नीलाई लाभ पुर्याएको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई बर्खास्त गरेका थिए । विज्ञहरूका अनुसार एक महिनाअघि मात्र गठन भएको सरकारका दुई मन्त्रीले विभिन्न प्रकरणमा राजीनामा दिनुपर्दा प्रधानमन्त्री शाहको छविमा असर परेको छ ।
भारतीय कूटनीतिज्ञ ब्रह्मा चेलानी ले सामानिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपाल सरकारको भ्रष्टाचारविरुद्धको छविमा धक्का लागेको छ । मार्च २७ मा सत्ता सम्हालेयता प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाह नेतृत्वको नयाँ सरकारले सुरुआती चुनौती र अवरोधहरू सामना गरिरहेको छ । गृहमन्त्री सुधन गुरुङको राजीनामा यो सरकारका लागि ठूलो झट्का हो ।’
उनले भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’को वाचा गरेर भारी मतसहित आएको सरकारका गृहमन्त्री, जो कानुन–व्यवस्थाका प्रमुख हुन्छ, सम्पत्ति शुद्दीकरणसँग जोडिएका शंकास्पद व्यक्तिसँग वित्तीय सम्बन्धका कारण राजीनामा दिनु नैतिक विश्वसनीयतामा गम्भीर चोट भएको टिप्पणी गरेका छन् ।

त्यसैगरी, नेपाल जानकार मानिने कुटनीतिज्ञ सुखदेव (एसडी) मुनीले पनि टिप्पणी गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘केवल ३५ दिनभित्रै नेपाली प्रधानमन्त्री बालेनले आफ्ना दुई मन्त्री हटाउनुपरेको छ । यसले उनको सहकर्मी चयनमा अनुभवहीनता देखाउँछ । योग्य र सक्षम व्यक्तिलाई अघि ल्याउने वाचा विपरीत, उनले आफू निकटका र आफूअनुसार चल्ने व्यक्तिहरूलाई मन्त्रिपरिषद्मा समावेश गरेका छन् ।’

गृहमन्त्री गुरुङले भने सामाजिक सञ्जालमार्फत आफूले निष्पक्ष छानबिन सुनिश्चित गर्न र पदमा रहँदा हितको द्वन्द्व नहोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन् । राजीनामा दिँदै गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘मेरो लागि पदभन्दा नैतिकता ठूलो हो, र जनविश्वासभन्दा ठूलो शक्ति केही छैन । सुशासन, पारदर्शिता र जवाफदेहिता माग गर्ने जेन जी आन्दोलनले पनि यही सन्देश दिएको छ कि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व जवाफदेही हुनुपर्छ ।’




प्रतिक्रिया