ब्याच नम्बर १८१ का १४६ जना इन्सपेक्टर (फोटो फिचर)


काठमाण्डु – नेपाल प्रहरीका १४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पास आउट भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले आइतबार महाराजगंजमा एक विशेष समारोह आयोजना गर्दै प्रहरीमा तालिमरत १ सय ४६ जना इन्स्पेक्टरलाई दीक्षित गरेको हो ।

आइतबार पास आउट भएका निरीक्षकहरू १ सय ८१ औं समूहका हुन् । सो अवसरमा गृहमन्त्री बालकृष्ण खाणले तालिममा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक कैलाश लिम्बुलाई स्वर्गीय कुलानन्द स्मृति पुरस्कार प्रदान गरेका थिए ।

साथै उनले सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आदर्श गिरी, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक आशिस पोखरेल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारी, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अभय लामा, मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक पूर्ण बहादुर केसी र शारीरिक व्यायाम र प्रहरी युक्ति तथा कारवाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक सनम मल्ललाई पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार प्रदान गरे ।

उक्त अवसरमा गृहमन्त्री खाणले मुलुकमा शान्ति सुरक्षा स्थापना गर्ने, नागरिकको जनधनको सुरक्षा सुनिश्चित गर्ने, महिला बालबालिका, जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन कानूनले निर्दिष्ट गरेका जिम्मेवारीलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन दीक्षित हुने प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

उनले कानूनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतिमा नेपाल सरकार र गृहमन्त्रालयको पूर्ण साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

     

प्रतिक्रिया दिनुहोस
Advertisement