काठमाण्डु- अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले फिल्मको प्रचारलाई गति दिने उद्देश्यसहित फिल्मको पहिलो चल प्रचार सामग्री दर्शकमाझ ल्याएको हो ।
टिजरले चलचित्रको परिवेश र कथाका आयामहरुको झलक मात्र प्रस्तुत गरेको छ । कथाको बारेमा पूरा जानकारी नदिएर टिजरले ‘टिज’ गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै चलचित्र भित्र रहेको क्यान्डिड सटलाई स्थान दिइएको छ ।
‘बाटुलो जून’ ३० को दशकमा आधारित प्रेमकथामा बनेको चलचित्र हो । चलचित्रले एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरेको छ ।
अहिलेको प्रविधिमैत्री यूगमा र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, त्यो समयको प्रेम र समाजलाई चलचित्रले कथानकमा समेटेको छ ।
चलचित्रलाई भुवन केसीले निर्देशन गरेका हुन् । यसअघि आफु निर्देशकीय चलचित्र ‘ड्रिम्स’मा उनले उत्तरआधुनिक प्रेमकथालाई पर्दामा प्रस्तुत गरेका थिए ।
तर यसपटक भने उनी त्यसभन्दा धेरै पछाडिको समयमा पुगेका छन्- त्यही समय, जुन समय नेपाली चलचित्रमा भुवन केसी स्वयं पर्दामा देखिने यस्तै प्रेमकथाका लोकप्रिय अभिनेता थिए ।
‘बाटुलो जून’ केवल पुरानो समयको कथा भन्ने चलचित्र मात्र नभएर आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको भुवन केसी बताउँछन् । उनले आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झँदै त्यही समयलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरेका छन् ।
चलचित्रमा अनमोल केसीले मुख्य भूमिका निर्वाह गरेका छन् भने स्वयं भुवन केसी पनि महत्वपूर्ण भूमिकामा छन् । यो चलचित्रबाट प्रिन्सी खतिवडाले डेब्यु गरेकी हुन् भने यही चलचित्रबाट बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि पुनरागमन गरेकी छन् । चलचित्रलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् ।
आगामी कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रुपमा छन् ।
चलचित्र ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सह-निर्माता रहेका छन् ।




प्रतिक्रिया