दुई सय चेलीबेटी बेचबिखनका आरोपी छुटे


काठमाडौं – चेलीबेटी बेचबिखन गरेको आरोपमा जिल्ला अदालत नुवाकोटबाट ३७ वर्ष जेल सजाय सुनाइएका दुप्चेश्वर–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । दुई सयभन्दा बढी चेलीबेटी बेचबिखनको आरोप लागेका तामाङलाई उच्च अदालतका न्यायाधीश रमेशबहादुर थापा र हरिप्र्रताप केसीको संयुक्त इजलासले सोमबार सफाइ दिएको हो ।

सुनबहादुरका आफ्नै गाउँका तीन जना पीडित महिलाले बम्बईबाट फर्केर आएपछि प्रहरीमा जाहेरी दिएका थिए । पीडितको जाहेरीको आधारमा नुवाकोट प्रहरी कार्यालयले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो । चेलीबेटी बेचबिखन मुद्दामा उनलाई जिल्ला अदालत नुवाकोटले ७ चैत २०७४ मा ३७ वर्ष ६ महिना जेल र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

भारतमा बेचिएर फर्केका महिलाले सुनबहादुरसहित तीन जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए । पहिलोपटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो । २०५१ सालमा नुवाकोट जिल्ला अदालतले उनलाई ६ वर्ष कैद तोकेको थियो । त्यसपछि प्रहरीले उनलाई ‘फरार’ सूचीमा राख्यो । फरार सूचीमै रहेकै बेला सुनबहादुरले २०७४ वैशाखमा स्थानीय चुनावमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराए । कांग्रेसबाट उनले वडाध्यक्ष जिते ।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले समेत जिल्ला अदालत नुवाकोटको मुद्दालाई सदर गरेको थियो । त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो । तर, उनी जेल गएनन् । पछिल्ला मुद्दामा काठमाडौं अदालतले धरौटीमा छाड्न आदेश दिए पनि उनी अघिल्लो आदेशका आधारमा जेल चलान भएका थिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement