विखण्डनकारी सीके राउत त मूलधारको राजनीतिमा आइसके,विप्लवजी पनि वार्तामा आउनुपर्छ :गृहमन्त्री थापा


विराटनगर – गृहमन्त्री राम बहादुर थापा बादलले नेत्र विक्रम चन्द विप्लव समुहका गतिविधि निस्तेज पार्न सरकार सफल भएको बताएका छन् । विराटनगरमा बुधबारदेखि आयोजना गरिएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी भएका गृहमन्त्री थापाले ‘विप्लव समूहको गतिविधि निस्तेज भएको छ । यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको छ’, मन्त्री थापाले भने ।

उनले विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको बताए । ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ’, विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको बताए ।जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल र्पुयाउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

देशमा विकास निर्माणको गति तीव्र गतिमा अगाडि बढेको बताउँदै उनले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सर्भेक्षणले पनि ५ वर्ष्भित्र २ अंकको आर्थिक वृद्धि हुने, ऊर्जा उत्पादन ५ गुणाले बढ्ने र आगामी वर्ष्भित्र १ हजार मेगावाट विद्युत् थप हुने दाबी पनि गरे।

गृहमन्त्री थापाले अहिलेको वर्ष विकास र समृद्धिको वर्षको रूपमा सरकारले परिभाषित गरेको बताउँदै अब तीव्र गतिमा पूर्वाधार निर्माणमा लाग्ने बताए। २ दिनसम्म चलेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलसहित प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, प्रदेशका मुख्यसचिव केदार न्यौपाने, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र सुरक्षासँग सम्बन्धित सरकारी अधिकारीको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement