बेलायती गायक फ्रेडीका संग्रह लिलामीमा


लण्डन- प्रख्यात बेलायती गायक र गीतकार फ्रेडी मक्र्युरीका करिब १५ सय वस्तुको संग्रह, हस्तलिखित गीत र स्टेजमा गीत गाउँदा लगाएका पहिरन लिलामीमा बिक्री हुने भएको छ ।

लोकप्रिय पप व्याण्ड ‘क्वीन’का प्रमुख गायक फ्रेडीको वेस्ट लण्डनस्थित निवासमा रहेका ३० वर्ष यताका संग्रहको लिलामी हुन लागेको हो । गायकको सन् १९९१ मा निधन भएको थियो । उनले निधन अघि घर र आफ्ना सम्पूर्ण सामाग्री पुरानो साथी मेरी अस्टीनलाई छोडेका थिए ।

फ्रेडीको घरमा उनको निधन हुनु एक महिना अघि उनले किनेको अन्तिम चित्र पनि छ । यो चित्र सोफा नजिकै छ । जसको मूल्य चार लाखदेखि ६ लाख युरोसम्म राखिएको छ । फ्रेडीको हस्तलिखित नौ पृष्ठको गीत ‘वी आर द च्याम्पियन्स’सँगै हार्मोनी, कर्डलाई पनि लिलामी गरिनेछ । यसको मूल्य २ लाख यूरोदेखि ३ लाख यूरोसम्म तोकिएको छ ।

अस्टिन १९ वर्षको छँदा व्याण्ड ‘क्वीन’का गितारिष्ट ब्रायन मेसँग डेटमा थिइन् । उनले सन् १९७० मा फ्रेडीलाई पहिलोपटक भेटेकी थिइन् । फ्रेडीसँग नजिकको सम्बन्ध बनाएपछि मात्र फ्रेडीले अस्टिनलाई आफू ‘समलिंगी’ भएको बताएका थिए । फ्रेडीलाई एड्ससँग सम्बन्धित रोग लागेपछि उनको स्याहार अस्टिनले नै गरेकी थिइन् । अस्टिन अहिले ७२ वर्षकी भइन् ।

अस्टिनका अनुसार फ्रेडीले स्टेज प्रस्तुतीमा लगाएका क्याटसुट, चम्किलो जुत्ता, रातो मखलर र स्फटिक मुकुटसँगै सन् १९८० को दशकमा व्याण्डसँग गरेको अन्तिम यात्रका पहिरन पनि लिलामीमा राखिनेछ ।

फ्रेडीका १५ सय बढी सामानहरु सेप्टेम्बरमा लिलामीमा बेचिनु अघि लण्डनको सोथेबेमा प्रदर्शनका लागि राखिनेछन् । अस्टिनले लिलामीबाट करिब ६ लाख यूरो जम्मा हुने र केही रकम परोपकारका लागि दान दिइने बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement