अमेरिकी मन्त्री नेपालमा :सेनालाई वेल-४१२ हेलिकोप्टर अनुदानमा दिने अमेरिकाको निर्णय


काठमाण्डु -संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई दुई वटा सैनिक हेलिकोप्टर अनुदानमा दिने भएको छ । सेनालाई अमेरिकाले दुई थान अमेरिकन वेल -४१२ हेलिकोप्टर अनुदानमा दिन सहमत भएको हो ।

दुवै हेलिकोप्टर मिडियम साइजको रहेको सैनिक स्रोतले बतायो । हेलिकोप्टर अमेरिकाले वैदेशिक सैनिक सहायताअन्र्तगत दिन लागेको हो । अमेरिकाबाट लिन लागेको हेलिकोप्टरको लागि रक्षा र परराष्ट्रमन्त्रालय हुंदै सेनाको पत्र अमेरिकी दूतावासमा पुगिसकेको छ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणका क्रममा हेलिकोप्टर सहयोगबारे छलफल गरेका थिए । शर्माले अनुदानमा सैनिक हेलिकोप्टर दिन आग्रह गरेकोअनुसार अमेरिकाले सहयोग गर्न लागेको हो ।

अमेरिकाले हेलिकोप्टरका साथै स्पेयर पार्टस र चालकहरुलाई तालिम समेत प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । यो सबै सैनिक सहयोग वैदेशिक सहायता शिर्षकमा गर्न लागेको हो ।

नेपाली सेनाले यसअघि रसियाबाट दुई वटा एम आई १७ सैनिक हेलिकोप्टर खरिद गर्ने तयारी गरेको थियो । तर, युक्रेन र रसियाको युद्ध चलिरहेको बेला अमेरिकाले रसियाबाट हेलिकोप्टर खरिद नगर्न दबाव दिएपछी सेना त्यसबाट पछी हटेको थियो । अर्थमन्त्रालयले हेलिकोप्टर खरिदका लागि बजेट समेत निकासा गरिकसेको भएपनि अन्तिममा अमेरिकाको दबावपछी स्थगित भएको स्रोत बताउंछ ।

अमेरिकाले दिन लागेको सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसएसपी) अन्र्तगत भने नभएको सैनिक स्रोतले जानकारी दिएको छ । सरकारले एसपीपी सम्झौंता अघि नबढाउने निर्णय गरेपनि अहिलेसम्म अमेरिकी सरकारलाई पत्रचार भने गर्न सकेको छैन । यही बेला अमेरिकाले सेनालाई हेलिकोप्टर अनुदानमा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एसपीपी स्थगित गर्ने निर्णय भएसंगै एक्कासी अमेरिकी कूटनीतिज्ञ नेपाल भ्रमणको क्रममा बिहिवार काठमाण्डु आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीन दिने भ्रमणमा नेपाल आएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासंग भेटवार्ता गर्दैछन् । दिल्लीबाट नेपाल आउंनुअघि भारतिय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालसंग दुई घण्टा लामो भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement