अझै तर्साउन छाेडेन भूकम्पले, चार वर्षमा ४५ हजारभन्दा धेरै परकम्प


काठमाडौं – गोरखाको बारपाक केन्द्र भएर विनाशकारी भूकम्प गएको (आज) बैशाख १२ गते ४ बर्ष पूरा भएको छ । ४ बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए । भूकम्पले लाखौँ भौतिक संरचनामा क्षति पुगेको थियो। पुनर्निर्माणमा ढिलासुस्ती हुँदा भूकम्पले घरबास गुमाएका ५० प्रतिशत नागरिक अझै पनि अस्थायी टहरामै छन्।

वैशाख १२ गतेको भूकम्पबाट नेपालका १४ जिल्ला अतिप्रभावित बनेका थिए । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो ।  नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो ।२०७२ सालको महाभूकम्पअघिको तुलनामा त्यसपछिका समयमा भूकम्प जाने क्रम बढेको छ ।

भूकम्पविदहरुले भने अहिले आइरहेका कम्पनहरु भूकम्प नभएर आफ्टरशक अर्थात परकम्पनहरु रहेको बताएका छन् । ठूलो भूकम्पले दरार पैदा गरेको ठाउँमा जाने भूकम्पलाई परकम्प भनिन्छ भने ठूलो भूकम्पले प्रभाव नपारेको नयाँ ठाउँकोलाई भूकम्प भनिन्छ । ०७२ साल यताको चार बर्षमा झण्डै ४५ हजार परकम्प आएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आउने गरेको छ ।

भूकम्पविद्का अनुसार कुनै स्थानमा ठूलो भूकम्प गएपछि त्यहाँ धेरै बर्षसम्म निरन्तर निरन्तर साना स्केलका भूकम्प जाने गर्छ, जसलाई परकम्प भन्ने गरिन्छ । शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएको कारण पटक पटक भूकम्प जाने भूकम्पविद् बताउँछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले घरबास गुमाएका ७ लाख ६२ हजार तीन सय ७ परिवारले निजी आबास पुनर्निर्माणको लागि अनुदान संझौता गरेका थिए।

निजी आवास निर्माणको लागि सरकारले तीन लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ।भूकम्पले क्षति पुगेका निजी आबासमध्ये हालसम्म तीन लाख ८२ हजार २ सय ७७ परिवारको मात्रै घर पुनर्निर्माण सकिएको छ।दुई लाख २० हजार ६ सय ५८ घरको पुनर्निर्माण चलिहरको छ। भूकम्पले भत्किएका झण्डै २० प्रतिशत घरको पुनर्निर्माण अझै सुरु भएको छैन।

पुनर्निर्माण गर्नुपर्ने सात हजार पाँच सय ५३ विद्यालयमध्ये चार हजार चार सय ७६ वटाको मात्रै पुनर्निर्माण सकिएको छ। त्यसैगरी भूकम्पले क्षतिग्रस्त सात सय ८८ स्वास्थ्य संस्थामध्ये हालसम्म ६४३ वटाको मात्रै पुनर्निर्माण सकिएको छ।

नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आइरहेका छन् । नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेको छ । यी दुई प्लेटबीच संघर्ष हुँदा नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ । झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement