नेपाल–भोट सन्धिको साक्षी ऐतिहासिक ढुंगा बाढीले बगायो

नेपाल–भोट सन्धिको साक्षी ऐतिहासिक ढुंगा बाढीले बगायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदुर — दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको ऐतिहासिक ढुंगा त्रिशूलीमा आएको बिनाशकारी बाढीले बगाएको छ ।

नेपाल–भोट युद्ध अन्त्यपछि सन्धि गरिएको स्थानमा रहेको ऐतिहासिक ढुंगा भदौ १० गतेको बाढीले सन्धिस्थलबाट बगाएको हो ।

विदुर नगरपालिका–१० बेत्रावतीमा रहेको उक्त ढुंगा नेपाल र तिब्बतबीच भएको ऐतिहासिक बेत्रावती सन्धिको जीवित साक्षी थियो ।

नेपाल र तिब्बतबीच विसं १८४९ (सन् १७९२) मा युद्ध अन्त्यका लागि बेत्रावतीमा सन्धि भएको थियो । नेपालका तर्फबाट देवीदत्त थापा र तिब्बतका प्रतिनिधि जनरल टुङट्वानले सन्धिमा हस्ताक्षर गरेको अभिलेखमा पाइन्छ ।

सन्धिका बेला त्रिशूली नदी किनारमा रहेका दुई विशाल ढुंगामध्ये एउटामा नेपाली पक्ष र अर्कोमा भोट पक्ष बसेर सन्धिको लिखत तयार पारेको बताइन्छ । त्यही कारण ती ढुंगा युद्ध र त्यसपछिको नेपाल–तिब्बत सम्बन्धको जीवित ऐतिहासिक प्रमाणका रूपमा रहँदै आएका थिए ।

तर, भीषण बाढीले इतिहास बोकेको एउटा ढुंगा नै आफ्नो मूल स्थानबाट उखेल्यो । पानीको सतह घट्दै जाँदा बेलकोटगढी नगरपालिका क्षेत्रमा पर्ने महादेवफाँटको बुधसिंहघाट नजिक त्रिशूली किनारमा उक्त ढुंगा देखिएको स्थानीय अन्मेष श्रेष्ठले बताए ।

‘बेत्रावती सन्धि गरिएको ढुंगा पानी घटेपछि महादेवफाँटनजिकै त्रिशुलीमा देखिएको छ,’ उनले काठमाण्डु पाटीसँग भने ।

ढुंगा देखिएको स्थान सन्धिस्थल बेत्रावतीबाट करिब २० किलोमिटर दक्षिण पर्छ । श्रेष्ठका अनुसार बाढीमा बगेका दुवै ढुंगा केही सय दूरीमा देखिएका छन् ।

संग्रहालय बनाउने तयारी थियो, ढुंगा बगायो

ऐतिहासिक ढुंगा संरक्षण गरेर युद्ध संग्रहालय तथा स्मृति पार्क बनाउने तयारी बढाइँदै गर्दा ढुंगा बाढीमा बगेको छ ।

विदुर नगरपालिकाले संघीय र प्रदेश सरकार तथा पुरातत्व विभागसँगको सहकार्यमा सन्धिस्थल संरक्षण, युद्धमा सहभागी व्यक्तिहरूको सालिक तथा युद्ध सामग्री राख्ने गरी स्मारक निर्माणको योजना बनाएको थियो ।

नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार भइसकेको थियो।

‘पुरातात्विक संरचनाका रूपमा ढुंगाको संरक्षण गर्ने, युद्धमा सहभागी भएकाहरूको सालिक र युद्ध सामग्रीसहित स्मारक बनाउने योजना थियो,’ उनले भनिन्, ‘योजना अघि बढिरहेका बेला बाढीले ढुंगा नै बगायो ।’

बेत्रावती हुँदै रसुवागढीतर्फ जाने पर्यटकका लागि समेत यो ढुंगा आकर्षणको केन्द्र थियो । पर्यटकहरू ढुंगामाथि चढेर तस्बिर खिच्ने गर्थे भने पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरूका कारण पनि यो क्षेत्र चर्चित थियो ।