भागरथी हत्या प्रकरणः दिनेशको डिएनए परीक्षणका लागि काठमाण्डु पठाइयो


काठमाण्डु – बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाण्डु पठाइएको छ ।

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा हिरासतमा रहेका दिनेशको डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाण्डु पठाइएको हो ।

डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पुष्टि हुने बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

परीक्षण रिपोर्ट केही दिनमै आउने उनले बताए । यसअघि भागरथीको भेजाइनल स्वाब पनि प्रयोगशाला पठाइएको थियो । तर, परीक्षण रिपोर्ट भने आएको छैन ।

गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा मृत फेला परेकी थिइन् । त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement