चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी छः मन्त्री भण्डारी

चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी छः मन्त्री भण्डारी


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मित्रराष्ट्र चीनको पुँजी र प्रविधिलाई नेपालको विकाससँग जोड्न जरुरी भएको बताएका छन् ।

नेपाल–चीन हिमालय मैत्री समाजले आज नेपाल–चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष प्रवेशको अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले नेपालको विकास र समृद्धिका लागि लगानी आवश्यकता भएको र त्यसका लागि चीन सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

“मुलुकमा विकासका लागि लगानीको आवश्यक छ, मित्रराष्ट्र चीनसँग साथ सहयोगका लागि पटकपटक सन्धि सम्झौतामा पनि भएका छन्”, मन्त्री भण्डारीले भने, “चीनका राष्ट्रपतिको पछिल्लो नेपाल भ्रमणका अवसरमा भएका सहमति कार्यान्वयन गर्न जरुरी छ ।” भण्डारीले नेपाल–चीन सम्बन्धका आयाम र महत्व परिवर्तित सन्दर्भमा अझै धेरै बढेर गएको बताए ।

“मुलुकमा देखिएका निराशालाई चिर्ने उद्देश्यले राष्ट्रिय समस्यालाई सम्बोधनगरी आशाको किरण जगाउन वर्तमान सरकार निर्माण भएको हो, उद्योग, पर्यटन, सूचना प्रविधि, देशको विकास र रोजगारीलाई मुख्य केन्द्रित भएर सरकारले काम गरिरहेको छ”, मन्त्री भण्डारीले भने ।

नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीनको विकासबाट विशेष गरी नेपालसहित विश्वका अन्य मुलुकलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

उनले संस्थागत क्षमता अभिवृद्धि चीनको मुख्य कार्य भएको बताउँदै यही सिद्धान्तलाई चीन सरकारले अवलम्बन गर्दै आएको बताए । राजदूत सङले समाजवादी अर्थतन्त्रलाई प्रवद्र्धन गर्दै नागरिकको गुणस्तरीय जीवन जिउने अधिकारलाई सुनिश्चित गर्न चीन सरकार लागिरहेको बताए ।