सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान छ : गृहमन्त्री श्रेष्ठ


काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन् ।

शुक्रबार भानु जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन् ।

“भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन गरे । आज नेपालीमात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्”, उनले भने, “भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ । सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे ।

“आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो । हामी सबैको हृदयमा भानुभक्त अङ्कित छ, भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुखमुखमा पुग्यो, त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं”, श्रेष्ठले भने, “तर त्यतिमात्र होइन, उहाँले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घरघरमा पुर्यायाउन महत्वपूर्ण योगदान पुर्याउनुभयाे ।”

भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन  तथा न्यायको पक्षमा भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको स्मरण गराए ।

“आज विश्वका साथै नेपालमा पनि उपभोक्तावाद जबर्जस्तरुपमा अगाडि बढिरहेका बेलामा यो जीवन केका लागि ? धनी भईकन मैले पनि समाजलाई केही गर्न सकिनँ, मेरो जीवनको के काम, एउटा घाँसीले केही गरिराखेको छ, मैले केही गर्न सकिनँ भन्नुभयो”, उनले भने, “यो सामान्य घटनाजस्तो लाग्छ । हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन, जीवनको सार्थकता हरेकलाई बोध गराउन, सामाजिक कर्तव्य निर्वाह गराउन र न्यायको पक्षमा भूमिका निर्वाह गर्न  उद्घोष गर्नुभयो ।”

जीवनको सार्थकता र मूल्यबोध गर्ने विषयमा मनन गर्न आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकतालाई ग्रहण गर्न भानुभक्तबाट सिक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement