विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई कोरोनाको उच्च जोखिमबाट हटायोः मन्त्री ढकाल


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सामग्री सङ्कलन र परीक्षणका हिसाबले अब अभाव हुन्न भन्ने ठाउँमा पुगेको बताएका छन् ।

सङ्घीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आजको बैठकमा उनले स्वास्थ्य सामग्री र किट व्यवस्थापन भएकाले पिसीआर परीक्षणको दायरालाई अभियानकै रुपमा अघि बढाउन लागिएको जानकारी दिए ।

उनले भने, ‘‘सीमित स्रोत र सामग्रीका कारण सुरुआती दिनमा व्यवस्थापन गर्न निकै चुनौती खडा गरेकामा त्यो अवस्था अहिले अन्त्य भइसकेको छ । पछिल्लो समय चीनबाट ४० हजार थान, स्वीट्जरल्याण्डबाट ३० हजार थान किट प्राप्त भएको छ । अरु पनि व्यवस्थापन गरिएको हुँदा अहिले हामी एक लाख पिसीआर परीक्षण गर्नसक्ने योग्यता बनाएका छौँ ।’

शुरुका दिनमा एक व्यक्तिको स्वाब हङकङ पु¥याएर परीक्षण गरिएको घटना स्मरण गराउँदै मन्त्री ढकालले त्यो अवस्थामा सुधार ल्याएर अहिले मुलुकमा १६ स्थानमा परीक्षण विस्तार हुनुलाई उपलब्धिकै रुपमा लिनुपर्ने बताए । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमको सूचीबाट हटाएको जानकारी दिँदै उनले लकडाउनको सबै तह र तप्काबाट पालना भएकै कारण हालसम्म मानवीय क्षतिबाट जोगाएको बताए ।

छिमेकी मुलुकमा बढिरहेको सङ्क्रमणबाट भयभित बनाउने हो कि भन्ने पक्षलाई हेक्का गरी सरकारले काम गरिरहेको बताउँदै उनले कोभिड–१९ को प्रभाव अर्थतन्त्रलगायत सर्वत्र क्षेत्रमा पर्ने स्थिति रहेको बताए । यसअघि बैठकमा सदस्यहरुले पिसीआर परीक्षणको व्यवस्था विस्तार गर्न, घर फर्कने क्रममा सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई स्वास्थ्य परीक्षण गरी तत्काल स्वदेश फर्कने व्यवस्था मिलाउन, स्वास्थ्य परीक्षण र राहत वितरणमा राजनीतिक आस्थाका आधारमा विभेद् हुन नदिने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका थिए ।

कोरोनाको भयावह रहेका कतिपय मुुलुकले आफ्ना नागरिक जहाज ‘चार्टर’ गरेर लगिरहेका हुँदा अनेकौँ दुःख कष्ट खेपेर सीमा क्षेत्रमा आएका नागरिकलाई रोक्ने, छेक्ने र उतै फर्काउने काम तत्काल बन्द गर्न सुझाव दिँदै सांसदहरुले अप्ठेरोमा रहेका नागरिकलाई सहयोग पु¥याउन ती देशमा रहेका दूतावासलाई सक्रिय तुल्याउन सुझाव दिए । यसरी सुझाव दिनु हुने सांसदमा लक्ष्मी परियार, भीमबहादुर रावल, दुर्गा पौडेल, गणेश ठगुन्ना, खेम लोहनी, राधेश्याम अधिकारी, देवप्रसाद तिमिल्सिनालगायत थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement