स्वास्थ्यमन्त्रीको आक्रोशः सत्ताका लागि लड्ने अन्तिम युद्ध होइन, मति सुध्रियोस् !


काठमाण्डु – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर अस्थीरता निम्त्याउने खेल नखेल्न चेतावनी दिएका छन् ।

मंगलबार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री ढकालले पार्टीभित्र अस्थीरता निम्त्याउन खोज्नेलाई जनताले जवाफ दिने बताएका छन् ।

उनको यो भनाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललाई लक्षित थियो । नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले सरकार र पार्टीबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि सरकारका मन्त्रीबाट यस्तो जवाफ आएको हो ।

नेताहरुलाई लक्षित गर्दै उनले भने, ‘बाँचियो भने सत्ता लडाइ प्राप्त गर्ने खेल फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका लागि लड्ने यो नै अन्तिम युद्ध होइन, पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । पाँच वर्षपछि त्यो खेलमा लाग्दा केही बिग्रिदैन ।’

त्यस्तै उनले अस्थिरता निम्त्याउने खेलमा लाग्दा सकिनुको विकल्प नभएको बताएका छन् । ‘बेला अनुसार व्यवहार गरिएन भने हामी सकिनु बाहेक केही छैन्,’ उनले भने ।

त्यस्तै उनले कृष्ण अष्टमीको शुभकामना नेताहरुलाई नै लक्षित गर्दै दिएका छन् । मन्त्री ढकालले ‘मेरा घरभित्र बसेका मित्रहरु हुन् चाहे ती मेरा छिमेकमा रहेका मित्रहरु हुन्’ भन्दै कृष्ण जन्मअष्टमीको शुभकामना दिएका हुन् ।

‘आज कृष्ण अष्टमीका दिन मति बिग्रेकाहरुका लागि मति सुध्रियोस् भन्ने कामना गर्दछु,’ उनले भने ।

त्यस्तै उनले भदौ २ गतेसम्म कोरोना भाइरसको जोखिम उच्च हुने पनि चेतावनी दिएका छन् । मन्त्री ढकालले यस्तै अवस्था कायम रहे नेपालमा कोरोना स.क्रमितको संख्या ९१ हजार पुग्ने चेतावनी दिएका छन् ।

‘सरकारले कोरोना नियन्त्रणमा सक्दो प्रयास गरिरहेको छ । पछिल्ला दिनमा उच्च १० हजार ७ सय ८३ को पीसिआर गर्दा २२४ पोजेटिभ देखिएको थियो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement