क्यानडा र भारतबीच विवाद बढ्यो, भारतद्वारा पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला!


काठमाण्डु- क्यानडा र भारतबीचको विवाद बढ्दै गएको छ। क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेपछि यी दुई देशबीचको विवाद बढेको हो ।

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेसँगै भारले पनि क्यानडाली कूटनीतिज्ञलाई देश निकाला गरेकाे छ । मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरिएकाे जानकारी दिएकाे छ । जसअनुसार क्यानडाली कुटनीतिज्ञलाई  ५ दिनभित्र देश छाड्न निर्देशन दिइएकाे छ ।

‘भारतका लागि क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारतमा रहेका क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराइएको छ । सम्बन्धित कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न भनिएको छ’, भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नताप्रति भारत सरकारको बढ्दो चिन्तालाई झल्काउँछ ।’

प्रधानमन्त्री ट्रुडोले क्यानडेली संसद्लाई सम्बोधन गर्दै हत्यामा भारतीय संलग्नता रहेकोबारे आफूहरुले सूचना फेला पारेको बताएका थिए। क्यानेडेली नागरिक निज्जरलाई गत जुन १८ मा गोली प्रहार गरी हत्या गरिएको थियो। ब्रिटिस कोलम्बियाको सुर्रेमा रहेको गुरुद्धारा अगाडि निज्जरलाई गोली हानिएको थियो।

निज्जरलाई खालिस्तान अभियानको नेतृत्वकर्ता मान्ने गरिएको थियो। भारतीय राज्य पंजाबलाई भिन्नै देश (खालिस्तान) बनाउनु पर्ने माग राख्दै विभिन्न समूहले अभियान चलाउँदै आएका छन्।

‘विदेशीको संलग्नतामा एक क्यानडेली नागरिकको क्यानडेली भूमिमा हत्या हुनु भनेको हाम्रो सार्वभौमितामाथिको हस्तक्षेप हो,’ क्यानडाको तल्लो सद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै ट्रुडोले भने, ‘यो हत्या स्वतन्त्र र लोकतान्त्रिक समाजको आधारभूत मान्यता विपरीत छ।’

निज्जार आफ्नो सवारी साधनभित्रै रहेका बेला मास्क लगाएका दुई हतियारीधारीले उनीमाथि गोली प्रहार गरेका थिए। बीबीसीका अनुसार गोली प्रहार हुँदा निज्जर भ्यानकुभर सहरबाट करिब ३० किलोमिटर पर रहेको गुरुद्धाराको व्यस्त पार्किङस्लथलमा थिए।

हत्या हुनुअघि निज्जरलाई पटक पटक धम्की दिइएको जनाइएको छ । भारतले निज्जरलाई आतंकवादीको सूचीमा राखेको थियो। निज्जरले भारतीय भूमिमा सशस्त्र समूह परिचालन गरेको आरोप पनि भारतीय सरकारको थियो। यद्यपि यसअघि नै भारतले निज्जरको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारिसकेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement