काठमाण्डु– प्रतिनिधिसभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत खड्का अचानक कुर्सीबाट ढलेका छन् ।
डोटीबाट निर्वाचित सांसद खड्का बिहीबारको बैठकमा आफ्नै स्थानमा बसिरहेका बेला एक्कासि ढलेका हुन् । त्यतिबेला रास्वपाका सांसद सोम शर्मा सदनमा बोलिरहेका थिए ।
खड्का ढलेपछि सभामुख डोलप्रसाद अर्यालले केहीबेर सांसद शर्माको भनाइ रोकेर सदनको कारबाही स्थगित गरेका थिए । त्यसपछि संसद् सचिवालयकै स्वास्थ्य इकाइमा खड्काको प्राथमिक उपचार गरिएको थियो ।
संसद् सचिवालयका अनुसार खड्काको रक्तचाप उच्च देखिएको थियो । उनको रक्तचाप १६० पुगेको थियो । सामान्य परीक्षणपछि थप उपचारका लागि उनलाई वीर अस्पताल लगिएको छ ।
घटनापछि केहीबेर रोकिएको प्रतिनिधिसभाको बैठक पुनः सञ्चालनमा आएको थियो ।




प्रतिक्रिया