भारत र पाकिस्तानको आपसी घृणाले सार्क मरणासन्न ! पुनर्जीवन सम्भव छ ?


काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन -सार्क- गौरवपूर्ण इतिहास बोकेको अन्तरदेशीय क्षेत्रीय संगठन हो । तर पछिल्लो समय भारत र पाकिस्तानको आपसी द्वन्द्व र घृणाले संगठन मरणासन्न अवस्थामा पुगेको छ । क्षेत्रीय संगठन र सहकार्यबाट पाकिस्तानलाई अलग्याउन भारतको प्रयासमा ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास’ (बिमस्टेक) स्थापना गरेर सक्रिय बनाइएको छ ।

लामो इतिहास बोकेको सार्कको न त नियमित बैठक हुन सकेका छन्, न त कुनै सहकार्य नै । आवद्ध देशका साझा मुद्दामा एकजुट भई सहकार्य गर्ने सार्कको उद्देश्य भएपनि भारत र पाकिस्तानको मनमुटावले दुवै देश एकै संगठनमा भेला भएर आपसी हितका विषयमा छलफल गर्न सक्ने अवस्थामा छैनन् । जसको शिकार भएको छ सार्क । त्यही अवस्थालाई देखेर सार्क अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क स्थापनाको ३४ औं वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै सार्कलाई पुनर्जीवन दिनुपर्ने बताए ।

तर भारत र पाकिस्तानको मनमुटावबीच कसरी सार्कले पुनर्जीवन पाउँला ? अध्यक्ष राष्ट्र नेपालले दुवै देशलाई एकठाउँमा राखेर आपसी हितमा छलफल गराउने हैसियत राख्छ ? यी प्रश्न अनुत्तरित छन् । ‘सार्कलाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्न अतिमहत्वपूर्ण भएको छ,’ शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भने, ‘सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अतिमहत्वपूर्ण भएको छ ।’सार्कको संस्थापक मुलुक तथा वर्तमान अध्यक्षका नाताले नेपाल परराष्ट्र नीतिको प्राथमिकताअनुरुप सार्कको बडापत्र, यसका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको उनले बताए ।

सार्कको बडापत्रले आर्थिक समृद्धिदेखि सामजिक–सांस्कृतिक विकास, सदस्य राष्ट्रको साझा लाभ र हितजस्ता महत्वपूर्ण उद्देश्यलाई सम्मिलित गराएको बताउँदै उनले त्यसका सिद्धान्तले दक्षिण एसियामा क्षेत्रीय सहयोगका निम्ति सुदृढ आधार खडा गरेको उल्लेख गरे । सन् १९८५ मा सार्क स्थापना भएयता क्षेत्रीय सहयोगका विविध क्षेत्रमा संगठनले प्रगति गरेकामा खुशी व्यक्त गर्दै उनले सदस्य देश र दक्षिण एसियाका जनतामा हार्दिक शुभकामना बधाई तथा ज्ञापन गरेका छन् । हाल निष्क्रिय रहेको सार्क शुभकामना र सम्झनामै सीमित हुने अवस्थामा पुगेको छ ।

‘दक्षिण एशिया साझा इतिहास, साझा सामाजिक संरचना तथा सांस्कृतिक सम्पदा र भौगोलिक निकटताले एकसाथ जोडिएको छ, विकासका लागि यहाँ उपलब्ध अथाह सम्भावना र अवसरले सँगसँगै अघि बढ्न र सहकार्यका निम्ति थप गति प्रदान गरेको छ,’ प्रधानमन्त्री ओलीले भने । वर्तमान विश्वले गरीबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउँदै प्रधानमन्त्री ओलीले तिनलाई नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास अपरिहार्य भएका बताए ।

क्षेत्रीय सहयोगको औचित्य बढिरहेको परिप्रेक्ष्यमा सदस्य देशले सार्कलाई गतिशील क्षेत्रीय संगठनका रुपमा अघि बढाउन उच्चस्तरीय प्रतिबद्धता प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यो विशेष दिनले हामीलाई शान्तिपूर्ण, समृद्ध र सुखी दक्षिण एशिया निर्माणका निम्ति दृढताका साथ साझेदारी गर्दै सघन क्षेत्रीय एकीकरणतर्फ उन्मुख हुन अभिप्रेरित गरोस् ।’सार्क स्थापना दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना सन्देश दिएका छन् । तर उनले आतंकवादको मुद्दालाई प्राथमिकतामा राख्दै पाकिस्तानप्रति प्रहार गर्ने गरेका छन् । बिमस्टेक सम्मेलनका क्रममा भने प्रधानमन्त्री मोदीले प्रविधि, विकास र सहकार्यलाई प्राथमिकतामा राख्दै सम्बोधन गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एशियाको शान्ति र स्थायित्वका लागि आतंकवाद नै सबैभन्दा ठूलो खतरा रहेको बताउँदै आतंकवादका सबै किसिमका स्वरुपलाई भेदभावरहित ढंगले निमिट्यान्न पार्नुपर्नेमा जोड दिए । वडापत्र दिवसका अवसरमा उनले दिएको शुभकामना सन्देशमा तीन दशक लामो यात्रामा सार्कले निरन्तर प्रगति गर्दैै आएको भएपनि आशातित लक्ष्य हासिल गर्न नसकेको यथार्थ औल्याउँदै क्षेत्रीय सहयोगको निम्ति शान्ति–सुरक्षा अपरिहार्य भएको उल्लेख गरे ।

पाकिस्तानका राष्ट्रपति डा. आरिफ आल्भीले विवादरहित दक्षिण आफ्नो परिकल्पना भएको बताउँदै सदस्य राष्ट्रबाट गरीबी, अशिक्षा, रोग, कुपोषण र वेरोजगारीविरुद्ध सामूहिक रुपमा मुकाबिला भइरहेको स्मरण गरे । गरीबी निवारण, सामाजिक–आर्थिक समानताको सृजना, महिला सशक्तीकरण तथा प्रगतिशील, शान्त, समृद्ध दक्षिण एसिया निर्माण गर्ने संगठन भएको बताउँदै उनले वडापत्र दिवसले तिनै लक्ष्य पूरा गर्ने प्रतिबद्धतालाई नवीकृत तुल्याउने सन्देशमा उल्लेख गरे । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले दक्षिण एशियामा शान्ति र समृद्धि प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको सार्कले दक्षिण एशियालाई एकीकृत गर्ने प्रयास गरेको बताउँदै संगठनको संस्थापकका नाताले श्रीलंकाले सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गरेको सन्देशमा उल्लेख गरे ।

भुटानका प्रधानमन्त्री लोते छिरिङले दिएको शुभकामना सन्देशमा सार्कले आर्थिक, सामाजिक एवं सांस्कृतिक फाँटमा उल्लेखनीय प्रगति गरेको बताउँदै दक्षिण एसियाका जनताको कल्याण तथा क्षेत्रीय सहयोग प्रवद्र्धनका निम्ति संगठन स्थापना गरेका सार्कका संस्थापकप्रति आभार प्रकट गरे ।बंगलादेशका परराष्ट्रमत्री अबुल हसन महमुद अलीले दिएको शुभकामना सन्देशमा क्षेत्रीय सहयोगका धेरै क्षेत्रमा सार्कले सहकार्यका अवसर उपलब्ध गराएको बताउँदै क्षेत्रीय एकताको निम्ति सबै सदस्य मुलुक एक हुनुपर्ने जोड दिए ।

मालद्विभ्सका विदेशमन्त्री अब्दुल्लाह साइले सार्कका सिद्धान्त, आदर्श, सहयोग एवं मैत्री, विविधतामा एकताप्रति आफ्नो देशको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै आपसी मतभिन्नता त्यागेर सार्क क्षेत्र र यहाँका जनताको समृद्धिका निम्ति साझेदारी गर्नुपर्नेमा जोड दिए । अफगानिस्तानका उपविदेशमन्त्री अदेला राजले सार्कलाई क्षेत्रीय सहयोगको सुदृढ माध्यम बनाउन सदस्य मुलुकसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।त्यसैगरी सार्कका महासचिव अमजद हुसेन बी सियालले सबै सदस्य राष्ट्रप्रति शुभकामना व्यक्त गर्दै बडापत्रका लक्ष्य र उद्देश्य हासिल गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

सार्क स्थापना दिवसको दिन सबै देशले शुभकामना दिएपनि सार्कले पुनर्जीवन पाउने वा नपाउने भन्ने विषय भारत र पाकिस्तानमा निर्भर रहन्छ । एकअर्कालाई दुष्मन ठान्ने दुई देश एकै मञ्चमा उपस्थित भएर आपसी हितका विषयमा छलफल गर्न सक्ने अवस्था नबनेसम्म सार्कले पुनर्जीवन पाउने देखिँदैन । भारतको पहलमा क्षेत्रीय संगठनकै रुपमा बिमस्टेकलाई सक्रिय बनाइएको छ । जसमा पाकिस्तान समावेश छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement