बागमतीका निलम्बित प्रमुख थापाविरुद्ध ३० करोड भ्रष्टाचारको आरोपमा अर्को मुद्दा

बागमतीका निलम्बित प्रमुख थापाविरुद्ध ३० करोड भ्रष्टाचारको आरोपमा अर्को मुद्दा


काठमाण्डु – सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाविरुद्ध भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । थापाले सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १२ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारले मुद्दामा दाबी गरेको छ ।

उनीविरुद्ध दर्ता भएको यो दोस्रो मुद्दा हो । यसअघि थापाविरुद्ध २८ चैतमा अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । त्यो मुद्दा दायर भएसँगै उनी नगरप्रमुख पदबाट स्वतः निलम्बनमा परेका छन् ।

ताल निर्माणमा अनियमितताको आरोपसहित अख्तियारले बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमार मोक्तानविरुद्ध पनि मुद्दा दायर गरेको छ । अख्तियारले मोक्तानलाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो कायम गर्नुपर्ने माग गरेको छ ।

अख्तियारले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई पनि ३० करोड २९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।